धनगढी — भारतसँग सीमा जोडिएकाले कोभिड संक्रमणको जोखिम बढी हुने भएपनि सुदूरपश्चिमका कतिपय स्थानीयले खोप लगाउन बेवास्ता गरिरहेका स्वास्थ्यकर्मीहरूले बताएका छन् । नेपालमा समेत कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोन देखापरिसकेको अवस्थामा खोप नलगाएकालाई बढ्ता जोखिम हुन सक्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
प्रदेशका विभिन्न जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रतिनिधिले खोप पर्याप्त भए पनि लगाउनेहरू जागरुक नभएको औंल्याएका हुन् । ‘हामीले सम्बन्धित पालिकाहरूमा आवश्यक खोपको मात्रा पठाएका छौं, तर हालसम्म पनि खोप नलगाएकामा अहिले पनि खासै चासो देखिन्न,’ स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने ‘अब ठूला विद्यालय र कलेजका विद्यार्थीलाई खोप नलाउँदासम्म विद्यालय आउन नपाइने सर्कुलर जारी गर्नु आवश्यक देखिएको छ ।’
हालसम्म सुदूरपश्चिम प्रदेशका करिब ४५ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् । प्रदेश सरकारले २० लाख नागरिकलाई कोभिडविरुद्धको खोप लगाउन योग्य नागरिकको सूचीमा राखेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ९ लाख ६ हजार १ सय ७४ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने ७ लाख ५१ हजार ८ सय ११ दोस्रो मात्रा खोप लगाएका छन् ।
‘पहिलो र दोस्रो गरी कुल १६ लाख ५७ हजार ९ सय ८५ मात्रा खोप पाएका छन्,’ निर्देशनालयका तथ्यांक सहायक डीएन गिरीले भने, ‘यस प्रदेशमा १९ लाख ४८ हजार ३ सय ८८ लाई खोप लगाउने लक्ष्य छ ।’ भारतबाट स्वदेश फर्किनेलाई सीमामै खोप लगाइँदै आएको गिरीले बताए । खोप नलगाएकालाई दुई साता यता गौरीफन्टा र गड्डाचौकी नाकामा खोप लगाइने गरिएको छ ।
निर्देशनालयका अनुसार हालसम्म सबैभन्दा धेरै दार्चुलाका बासिन्दाले कोभिडविरुद्धको खोप लगाएका छन् । दार्चुलामा पहिलो मात्रा ७१ प्रतिशत र दोस्रो मात्रा ६४ प्रतिशतले पाएका छन् । त्यस्तै, कञ्चनपुरका ५५ प्रतिशतले पहिलो मात्रा र कैलालीका ४५ प्रतिशतले खोप पाएका छन् ।
कोभिडको पहिलो र दोस्रो भेरियन्टको जोखिम कम भइरहेका बेला नयाँ भेरियन्ट फेला परेपछि सुदूरपश्चिम प्रदेश सरकारले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । ‘लापरबाही बढेको छ,’ सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने, ‘खोप लगाउनै पर्छ । साथै, मास्क कसैले लगाएको देखिँदैन, सेनिटाइजर, साबुनको प्रयोग गर्न नभूलौं ।’कान्तिपुर सभार