images

राणाकालीन रेडियो

नेपालीले कहिलेदेखि रेडियो सुन्न थाले ? अध्येता प्रत्यूष वन्तका अनुसार, सन् १९२० को दशकमा नेपालमा रेडियो आइपुगेको हुनुपर्छ । मदनमणि दीक्षितले पुर्ख्यौली घर गैरीधारामा काका देवमणिले बेलायतबाट झिकाएको रेडियो सन् १९२९ मा आइपुगेको र सम्भवतः सो काठमाडौंको सातौं रेडियो थियो भनि किताबमा लेखेका छन् ।

१९९५ साल साउन ७ गतेको ‘गोरखापत्र’मा रेडियो श्रवणमाथि एउटा ‘समाचार’ छापिएको छ । ‘एउटा संवाददाताले लेखे’ भन्दै सो सामग्रीमा भनिएको छ :हामी रेडियो सधैं सुन्थ्यौं । फ्रेन्च, जर्मन, अंग्रेजी, हिन्दुस्थानी, बंगाली, मराठी इत्यादि भाषामा गाना व्याख्यान इत्यादि बराबर सुनिन्थ्यो । अस्ति श्रावण २ गतेका दिन बेलुका साढे आठतिर हामीहरू डिल्लीको गाना सुन्दै थियौं । न बुझिने बोलिको गाना भन्दा ता बरू बाजा निको । गाना सुन्दा सुन्दै झर्को लाग्यो । वास्तवमा म गानाको प्रेमी पनि होइन । रेडियोको स्वरलाई ज्यादै मधुरो पारेर एउटा मित्रसँग दुःख सुखका कुरा गर्न लागें । अकस्मात् नेपाली लवजहरूको झटक कानमा पर्‍यो । झटपट रेडियोको स्वर ठुलो पारेर सुनेको ता साच्चै नै नेपाली गीत पो रहेछ । हर्षको ठेगाना रहेन, रेडियोमा नेपाली गीत ? एउटा मदिसेले जिभ्रो बटारी बटारीकन उच्चारण गरेको भाषाले पनि हाम्रो मनलाई मोह गरायो । उपस्थित सज्जन हर्षले जुरुक्क उठे । म केटाकेटीलाई बोलाउनका निम्ति कोठाकोठामा दगुरें । केटाकेटीकी आमा भात खाँदा खाँदै दगुरिन् । कुनै अदभुत चीजलाई हेरे जस्तो, हामी जहानैले रेडियोको डायललाई हेर्न लाग्यौं । साधारण गीतका निम्ति हाम्रो उत्सुकताले असाधारण रूप लियो । केटाकेटीहरू मारे खुशीका उफ्रन लागे । त्यो गीत चाँडै सिद्धिंदा हामीलाई अपशोच भो खुशी लागेन किन ? यस ‘किन?’ को उत्तरलाई मनोविज्ञानका विद्वान्हरू दिन सक्लान् ।’

‘मातृभाषाको चमत्कार’ शीर्षकको यो सामग्री अलि अतिरञ्जनापूर्णजस्तो लाग्छ, तर, तात्कालिक अवस्थामा ‘मातृभाषा’ को जुन बलियो संकथन निर्माण हुँदै थियो (अद्यापि छ), त्यसलाई यसले पुट दिन्छ । अनि यसले ‘मातृभाषा’ को सांकेतिक पुँजी/शक्तिलाई पनि प्रस्ट्याउँछ ।

ऊबेला रेडियो राख्न सक्नेले ‘फोनुबाजा’ (ग्रामोफोन) बारे नसुनेको, नदेखेको पक्कै थिएन । सम्भवतः फोनुबाजामै पनि उसले नेपाली गीत (त्यतिखेरसम्म नेपाली गीतहरू केही संख्यामा रिकर्ड भइसकेका थिए) सुनेको हुन सक्छ । तथापि, उक्त ‘संवाददाता’ ले पठाएको रिपोर्टमा रेडियोबाट पहिलो पटक नेपाली बोली/गाना सुन्दाको जुन लोमहर्षक वर्णन गरिएको छ, त्यो रोचक र शक्तिशाली छ ।

संवाददाताले ‘डिल्लीको गाना सुन्दै थियौं’ र ‘मदिसेले जिभ्रो बटारी बटारीकन उच्चारण गरेको’ भनेका छन् । तर, उद्घोषकले उच्चारण गरेको जिनिस गीतको बोल मात्रै थियो कि थप अन्य कुरा पनि थियो, थाहा हुन्न । कमलमणि दीक्षितले आफूहरू विसं १९९६ मा पुल्चोक घरमा सरेपछि पनि कलकत्ताबाट प्रसारण हुने गोर्खाली प्रोग्राम सुन्न पुरानो घर जाने गरेको उल्लेख गरेका छन् । सम्भवतः १९९५ मा गोरखापत्रका संवाददाताले उल्लेख गरेको सो कार्यक्रम तसर्थ सोही कलकत्ता रेडियोले भर्खर–भर्खर सुरु गरेको गोर्खाली प्रोग्राम पनि हुन सक्छ । ‘अल इन्डिया रेडियो’को दिल्ली स्टेसनबाट गोर्खाली कार्यक्रम चलाउन २००६ सालमा मात्रै नेपालीभाषी प्रस्तोता नियुक्त गरिएको थियो ।

रेडियोसँग नेपालीको नाता

नेपालीले कहिलेदेखि रेडियो सुन्न थाले ? नेपालमा कहिले रेडियो भित्रियो ? यकिन कसैले भन्न सक्दैन । यसबारे खोजी पसेका अध्येता प्रत्यूष वन्तका अनुसार, सन् १९२० को दशकमा नेपालमा रेडियो आइपुगेको हुनुपर्छ । आफ्नो पुस्तकमा मदनमणि दीक्षितले पुर्ख्यौली घर गैरीधारामा काका देवमणिले बेलायतबाट झिकाएको रेडियो सन् १९२९ मा आइपुगेको र सम्भवतः सो काठमाडौंको सातौं रेडियो थियो भनेका छन् । तसर्थ, कम्तिमा सन् १९२० को दशकको अन्त्यसम्ममा नेपालमा रेडियो सेटहरू भित्रिन र रेडियोका कार्यक्रमहरू सुनिन थालिसकेका थिए भन्न सकिन्छ । त्यही बेलादेखि छिमेकी भारत र श्रीलंकाबाट रेडियो प्रसारण सुरु भएका थिए । नेपालबाहिर (भारतमा) रहेका नेपाली र अझ खास गरी फौजमा रहेका गोर्खालीहरूले पनि कम्तीमा त्यही बेलादेखि रेडियो सुन्ने मौका पाएको हुनुपर्छ ।

जसरी अलि अघि (र अहिले पनि) टेलिभिजन र अहिले कथित ‘सामाजिक सञ्जाल’ प्रोपागण्डाको प्रमुख साधन बनेको छ, त्यसै गरी प्रारम्भिक चरणमा रेडियोसँग अपरिमित शक्ति भएको ठानिन्थ्यो । सो ‘शक्ति’ का कारण रेडियो सत्ताधारी, वर्चस्वशालीहरूको बलियो अस्त्र बन्यो । यो शक्तिशाली हतियार आफैंले प्रयोग गर्ने वा आफ्ना रैतीलाई अन्यले प्रयोग गर्न सक्ने हतियार बन्नबाट रोक्ने भन्ने जुनै शासकलाई चुनौतीको विषय हो । तसर्थ, विरोधीले हतियार बनाएर मार गर्नुअघि नै अन्यत्र मुलुकका शासकहरूले रेडियोलाई आफूले प्रयोग गर्न खोजेको देखिन्छ ।

यही क्रममा विभिन्न मुलुकले आफ्ना नागरिक र फौजलाई सूचना, जानकारी, मनोरञ्जन गर्न र मनोबल बढाउन मात्र होइन, विदेशी नागरिकलाई गुमराह गर्न र दुश्मन फौजको नूर गिराउनसमेत विदेशी भाषामा रेडियो–सामग्री प्रसारण गर्न थाले । उदाहरणका लागि दोस्रो विश्वयुद्धमा बर्मामा अंग्रेज र जापानी फौजको लडाइँ हुँदा अंग्रेजहरूको पक्षबाट लडिरहेका गोर्खाली सेनालाई भड्काउन जापानीहरूले रेडियो प्रयोग गरेका थिए । गोर्खाली सेनालाई अंग्रेजहरूले शोषण गरेकाले उनीहरूविरुद्ध लड्न बर्मेली रेडियो स्टेशनहरूबाट जापानीहरूले उक्साएका थिए ।

खासगरी भारतमा धमाधम नयाँ स्टेसन खुल्न थालेका र त्यहाँ धनीमानीकहाँ रेडियो श्रवणको संस्कृति पन्पिन थालेपछि नेपालमा पनि शनैःशनैः सो क्रम सुरु भयो । जुद्धशमशेरको पालासम्म आइपुग्दा नेपालमा पनि रेडियो सेटको संख्या बढ्न थाले । राणाहरूले त बाहिरी खबरको मूल माध्यम नै रेडियोलाई बनाएका थिए ।

चन्द्र बत्ती प्रकाश बिजुली अड्डा (अहिलेको विद्युत् प्राधिकरणको पूर्वरूप) का इन्जिनियर काशीराज पाण्डेले रेडियो सुनेर तिनको ‘न्यूजरील’ बनाएर शासकहरूलाई पठाउने गरेको जयदेव भट्टराईले लेखेका छन् । यस्तो ‘न्यूजरील’ को अनुवाद गोरखापत्रमा विदेश समाचारको रूपमा छापिने गरेको थियो । तात्कालिक समयको गोरखापत्र केलाउने हो भने त्यहाँ स्वदेशीभन्दा विदेशी समाचार ज्यादा भेटिन्छन् ।

दोस्रो विश्वयुद्धको समयमा रेडियोको प्रयोग अझ बढ्यो किनकि यो प्रोपगाण्डाको सशक्त हतियार थियो । लडाइँमा संलग्न सबै पक्षले प्रोपगाण्डाका लागि रेडियो प्रयोग गरे । यही सेरोफेरोमा गोर्खाली (नेपाली) भाषामा पनि अल इन्डिया रेडियोको कलकत्ता स्टेसनबाट कार्यक्रम प्रसारण हुन थाल्यो । विश्वयुद्ध सँगसँगै भारतमा चलिरहेको स्वतन्त्रता आन्दोलनलाई ‘डिफ्युज’ गर्न पनि विभिन्न भाषामा रेडियो प्रसार गर्नु वाञ्छनीय ठानियो । कलकत्ता स्टेसनबाट हरेक शुक्रबार बेलुका १५ मिनेटको गोर्खाली प्रोग्राममा केही गाना र समाचार प्रसारण गरिएको बुझिन्छ । प्रारम्भमा यो ब्रिटिस भारतको फौजमा रहेका गोर्खालीहरूका लागि प्रमुख रूपमा लक्षित थियो ।

दोस्रो विश्वयुद्धको लडाइँ बढ्दै जाँदा अंग्रेजहरूको पराजय होलाजस्तो देखियो । अंग्रेजहरूका मित्रशक्ति र सहयोगी नेपालमा पनि त्यसले कौतूहल मच्चायो । मान्छेहरूका कान ठाडा भए । अंग्रेज हारेमा उसका सहयोगी राणा शासक पनि सक्किन्छन् भन्ने गाइँगुइँ चल्यो । भीमबहादुर पाँडेले लेखेका छन्, ‘…अंग्रेजको हार अब अवश्यंभावी भयो भन्ने हल्ला नेपालमा बेतोडसँग मच्चियो ।…सो हल्ला सुनेका शहरीयाहरू रेडियो हुनेहरूका घरमा…झुम्मिन थाले ।’ गोरखापत्रमा विश्वयुद्धका समाचार र जर्मनहरूको दोहोलो काढिएको समाचार निकै पाइन्छ । तर, आफूहरूले प्रेषित गरेका समाचारभन्दा भिन्न सामग्री डायल घुमाएर विश्वभरका रेडियो स्टेसनबाट प्रसारण हुने समाचारबाट जनताहरूले थाहा पाइरहेका थिए । त्यसलाई नियन्त्रण गर्न जुद्धशमशेरले आफ्ना विश्वासपात्रहरूबाहेक अरू सबैकहाँको रेडियो खैंचिए । (उनले आक्रोशमा आफ्नो रेडियोसमेत फुटाएका थिए भन्ने सुनेको केहीले लेखेका छन् ।)

यसरी जम्मा गरेका रेडियोको संख्या करिब ४०० जति पुगेको प्रेमरमण उप्रेतीले लेखेका छन् । यसले तात्कालिक समयमा उपत्यकामा रेडियोको उपस्थितिको एक झलकसमेत दिन्छ । पछि अंग्रेजहरू नै युद्धमा विजयी भए र खैंचिएका रेडियो पनि तिनका मालिकहरूलाई फिर्ता दिइयो ।

फुक्का भयो रेडियो लाइसेन्स

नेपालमा पद्मशमशेरभन्दा अघिका राणा शासकले रैतीजनलाई रेडियोमा पहुँच नै पुग्न नदिएर सो ‘हतियार’ को प्रभावबाट रोक्न खोजेका थिए । सोही कारण रेडियोको सार्वजनिक प्रयोगमा उनीहरूले नियन्त्रण गरेका थिए । तर, पद्मको पालोमा आउँदासम्ममा एक त रेडियोको जताततै निकै विस्तार भइसकेको थियो, अनि अर्को, विदेशी भूमि (दिल्ली र कलकत्ता) बाट नेपाली/गोर्खाली भाषामा रेडियो प्रसार भइरहेको थियो— जसको शक्ति यो लेखको सुरुमा उद्धृत समाचारबाट अनुमान गर्न सकिन्छ ।

यस्तोमा जुद्धले झैं कि त रेडियो सेट नै राख्न नदिएर रेडियो वेभबाट देशी/विदेशी भाषामा जुन सामग्री (प्रोपगाण्डा) आइरहेको थियो, सो आफ्ना रैतीकहाँ पुग्नबाट रोकेर राख्नु पर्थ्यो कि आफैंले सो ‘हतियार’ प्रयोग गर्ने भन्ने निर्णय लिनुपर्ने थियो । पद्मशमशेरले पछिल्लो बाटो रोजे ।

पद्मशमशेर प्रधानमन्त्री भएको दुई महिना जतिपछि चन्द्र बत्ती प्रकाश बिजुली अड्डाले जारी गरेको रेडियो लाइसेन्स लिनेसम्बन्धी सूचना गोरखापत्रमा छापिएको छ । त्यसअघि नेपालमा लाइसेन्स (वा पूर्वस्वीकृति) लिएर मात्रै रेडियो राख्न पाइन्थ्यो । तर, पद्म सत्तामा आइसकेको र उनले केही ‘उदारता’ देखाएको मौका पारी केही अरूले पनि रेडियो राखेको बुझिन्छ । तसर्थ, बिजुली अड्डाको सो सूचनामा भनिएको छ :

‘रेडियो बजाउने लाइसेन्स लिनलाई सज्जनहरूले आजको महीनादिन भित्रमा आफ्नो रेडियो सेट ल्याई जँचाई किताप दर्ता गराउने र रेडियो बजाउने लाईसेन्स पाइसकेका सज्जनहरूले पनि सोही समय भित्र आफ्नो रेडियोको मेकरको नाउ मोडेल नम्बर र भाल्भहरूको संख्या समेत किताप दर्ता गराउनू । आफ्नो रेडियो वेचविखन गर्दा पनि यस अड्डामा जनाउ दी मात्र वेचविखन गर्नू ।’

यसरी आफ्नो सरहदभित्र भएका रेडियो आदिको लगत लिइसकेपछि सरकारले साउन २००३ देखि ल्याकत भएका सर्वसाधारण जोसुकैलाई रेडियो राख्न दिने भयो । त्यसपछि नेपाल/काठमाडौंमा पनि रेडियोको बिक्री–वितरण सुरु भयो । विभिन्न व्यापारीले रेडियो आयात गरेर बेच्न थाले । बिग्रे–भत्केका रेडियो बनाउने रेडियो मर्मत केन्द्रहरू पनि खुले । त्यसबाहेक, रेडियोको कार्यक्रम–पुस्तिका (प्रोग्राम गाइड) समेत बजारमा बिक्रीमा आइसकेको थियो ।

त्यतिखेरका रेडियो आकारमा ठूला र मोलमा महँगा थिए । विज्ञापन केलाउँदा तिनको मूल्य करिब २५० देखि ३५० रुपैयाँसम्म भएको पाइयो । तात्कालिक अवस्थामा एक तोला सुनको मूल्य ६७/६८ रुपैयाँ भएकाले निकै धनीमानीले मात्र रेडियो राख्न सक्थे ।

अन्ततः नेपालमा पनि रेडियो खुल्यो

सामान्यजनलाई लाइसेन्स लिई रेडियो राख्ने अनुमति दिएसँगै पद्मशमशेरले बिस्तारै आफ्नै रेडियो स्टेसन स्थापना गर्नेतर्फ पाइला चाल्न थाले । यो स्वाभाविक कदम पनि थियो किनभने रेडियो राख्न मात्र सहज तुल्याउनुको अर्थ अन्य मुलुकबाट प्रसारण हुने सामग्री (वा प्रोपगाण्डा) लाई आफूले सहजीकरण गरेको जस्तो हुन्थ्यो ।

पद्मशमशेर शासनमा आइसकेपछि सरकारी मुखपत्र गोरखापत्रको नाक–नक्सा परिवर्तन भएको थियो— तिनमा साधारणजनले विविध विषयमा सम्पादकलाई लेखेका चिठीहरूले स्थान पाउन थालेका थिए । यसै मेलोमा भदौ २१, २००३ को गोरखापत्रमा एउटा सम्पादकीय छापिएको छ— ‘विश्वप्रचार अड्डा’ शीर्षकमा । ‘नेपालमा पनि रेडियो स्टेसन खोल्न पर्‍यो’, ‘त्यसलाई विश्वप्रचार अड्डा भन्नुपर्‍यो’ जस्ता अनुरोधसहितका विभिन्न चिठी आफूकहाँ आएको उल्लेख गर्दै सम्पादकीयमा पहिले ती चिठीहरूको ‘सारांश’ दिइएको छ ।

गोरखापत्रका अनुसार, ती चिठीको मजबुन यस्तो थियो— सभ्य देशहरूमा विश्वप्रचार अड्डा खुलिसकेका छन्, नेपालमा पनि खोल्न पर्‍यो । मानिसहरूले रेडियो सुन्न थाले तर विदेशी भाषा बुझ्न कठिन छ । नेपालीमा ‘हप्ताको एकबाजि कलकत्ता केन्द्रबाट छेउ न टुप्पाको खबर दुइ चारओटा, र बजारिया गीतहरू दुइ चारओटा बजाएर खतम गर्दा रहेछन् । यो कुनै संतोष दिने कुरा भएन ।’

ती पाठक–पत्रहरूको सारांशपछि गोरखापत्रले ‘महाशय हो, धन्दा नमान्नुहोस् !’ भन्दै पद्मशमशेरले ‘नेपालमा पनि एउटा विश्वप्रचार अड्डा (ब्रडकाष्टिङ् स्टेशन) यथायुक्ति चाँडे नै स्थापना गर्न’ लागेको जानकारी दिइएको छ । यद्यपि, सो स्टेसन खुल्ने तिथिमिति त्यहाँ उल्लेख छैन ।

भदौ महिनामा त्यो सम्पादकीय छापिएपछिका केही महिनाका गोरखापत्र हेर्दा रेडियो सञ्चालनसम्बन्धी कामकारबाही अगाडि बढेको छेकछन्द पाइँदैन । बल्ल माघ १४ को गोरखापत्रको पहिलो पृष्ठमा ‘नेपालमा रेडियो प्रचारको सूचना’ छापिएको छ, जसमा भनिएको छ, ‘अबउप्रान्तलाई प्रतिदिन दिउँसो १ बजेदेखि १–३० बजेसम्म नेपालबाट प्रचार हुने नेपाली ब्रोडकास्टलाई सज्जनहरूले आफ्नो रेडियोमा ३३ देखि ३५ मिटरसम्ममा सुन्नुहोला ।’ यसैलाई आधार बनाएर केहीले नेपालमा पहिलो रेडियो स्थापनाको मिति माघ १४ लाई मानेका हुन् ।

एक हप्तापछिको गोरखापत्रको ‘नेपाल रेडियो स्टेशन’ शीर्षकको सम्पादकीयमा भनिएको छ— ‘आजकाल प्रतिदिन नेपालको बिजुलीघरले रेडियोको प्रचार पनि गर्दै छ । स्टेशन शक्तिशाली नहुनाले चार भञ्ज्याङ् बाहिर आवाज पुगेको थाहा पाइएन । चार भञ्ज्याङ्भित्रलाई काम चलाउ सुनिंदै छ । योभन्दा बर्ता शक्तिशाली स्टेशनको स्थापना नभै नेपालको प्यास मर्दैन भन्ने कुरो यो रेडियो प्रचारका प्रबन्धकहरूले बुझेकै कुरो हुनुपर्दछ । जे होओस्, रेडियोप्रचारले पनि नेपालको उज्ज्वल भविष्यलाई कुत्कुत्याउन लाग्यो । जय होओस्—श्री ३ महाराजको !’

यसरी नेपालकै आफ्नो रेडियोले प्रयोगात्मक हिसाबले (टेस्ट ट्रान्समिसन) सुरु गरिरहेको थियो । विष्णुप्रसाद शाहका अनुसार, ‘दोस्रो विश्वयुद्धमा ब्रिटिस सरकारको सहायताको निमित्त भारत गएको नेपाली फौज स्वदेश फर्कंदा साथै लिएर आएको रेडियो ट्रान्समिटर सेट’ बाट यो प्रसारण सुरु भएको थियो । तात्कालिक अवस्थामा रेडियोका सबै कार्यक्रम अहिलेको भाषामा ‘लाइभ’ हुन्थे । खास गरी प्रधानमन्त्रीले गर्ने महत्त्वपूर्ण भाषणहरू पनि ढ्वाङ (लाउड स्पिकर) र रेडियोमा समेत प्रत्यक्ष प्रसारण गरिन्थ्यो ।

रेडियोबाट प्रसारण हुने अन्तर्वस्तु (कन्टेन्ट) को कुरा गर्दा, पद्म रामभक्त हुनाले त्यतिखेर मूलतः रामसम्बन्धी भजन प्रसारण हुने गरेको केहीले बताएका छन् । २००३ फागुन २० गतेको गोरखापत्रमा ‘नेपाल रेडियो’ को सूचना छापिएको छ, र त्यहाँ ‘मङ्गलबार, वृहस्पतिबार, शनिबार, दिउँसो एक बजेदेखि’ रेडियो कार्यक्रम सुरु हुने र ‘कमसे कम आधा घण्टादेखि एक घण्टासम्मको प्रोग्राम’ रहने बताइएको छ ।

साथै, ‘रेडियोमा भन्नाका निम्ति स्वास्थ्य, बुद्ध धर्म । सनातन धर्म, अर्थशास्त्र, उत्तमोत्तम कविता, भजन, कृषि, स्वास्नी मानिस अथवा केटाकेटीहरूलाई काम लाग्ने कुराहरूमा लेख लेखी— ‘संपादक गोरखापत्र नेपाल’ का नाउँमा पठाउनू । लेखकहरूको नामोच्चारणका साथ साथै लेखहरूलाई पढेर सुनाउने प्रबन्ध’ हुनेछ समेत भनिएको छ । यसले रेडियोको लागि ‘कन्टेन्ट जेनेरेसन’ का लागि समस्या परेको र सोका लागि श्रोतासमक्ष पुगेको समेत देखाउँछ । गोरखापत्रमा छापिएका सूचनालाई आधार मान्दा पद्मशमशेरको शासनावधिभरि नेपाल रेडियोको कार्यक्रम नियमितैजसो प्रसारण भइरहेको थियोजस्तो देखिन्छ ।

पहिले ३५ मिटर ब्यान्डमा सञ्चालन हुँदै आएको कार्यक्रम पछि ४१ मिटर ब्यान्डमा सरेको र हप्ताको तीन दिन दिउसो तीन बजेदेखि नेपाल रेडियो बज्ने गरेको थियो । गोरखापत्रको सम्पादकीयमा लेखिएअनुसार, ‘निकट भविष्यमा रेडियोको प्रचार बढी हाम्रो मुलुकको पनि घरघर छाप्रोछाप्रोमा फैलिने सम्भावना’ रहेको र ‘फोनु बाजा झैं सस्तो र सुगम रूपमा यसको प्रचार गर्नका निम्ति औद्योगिक पुरुषहरू लागिरहेका’ थिए । ‘शुरू शुरूको काम हुनाले सन्तोषप्रद’ भइसकेको नभए तापनि ‘धेरै चाँडै नै हाम्रो रेडियो स्टेशन पनि संसारका प्रमुख रेडियो स्टेशनहरूको तुलनामा आउनेछ भन्ने पूर्ण आशा’ गोरखापत्रले व्यक्त गरेको थियो ।

तर, पद्म शासनसत्तामा लामो समय टिकेनन् उनलाई अर्का राणा मोहनशमशेरले धपाइछाडे । आफ्ना पूर्ववर्ती पद्मका नीतिसँग मोहनशमशेर खासै सहमत थिएनन् । उनी आफ्ना बाबु चन्द्रशमशेरझैं रैतीलाई दबाएरै शासन गर्नुपर्छ भन्ने मान्यता राख्थे । त्यसैले, मोहन शासनमा आएपछि पद्मले सुरु गरेको रेडियो बन्दसरह भयो ।सभार कान्तिपुरकोशेलीबाट