images

अल्लु अर्जुनको ‘क्रेज’ले हिट ‘पुष्पा’

  • १० पुष २०७८, शनिबार

बलिउडमाथि हाबी बन्दै गरेको दक्षिण भारतीय फिल्मले पछिल्लो समय नेपालमा पनि दर्शक पाउन थालेको छ । अल्लु अर्जुन अभिनित ‘पुष्पा’ले एक सातादेखि लगातार पाइरहेको हाउसफुल दर्शक,दक्षिण भारतीय फिल्म उद्योगले नेपाली दर्शकमाझ पारेको प्रभावको प्रमाण हो ।

एसएस राजमौलीको ‘आरआरआर’, ‘केजीएफ-२’नेपाली दर्शकबीच प्रतिक्षित बन्दै जाँदा बलिउडलाई उछिन्दै गरेको दक्षिण भारतीय फिल्मले नेपाली दर्शकमा आफ्नो छाप छोडेको प्रस्ट हुन्छ । हिन्दी भाषामा डबिङ गरिएका यी फिल्महरु नेपालका हलमा भने राजमौलीकै बाहुबली(६ सय ५० करोड)र बाहुबली-२(१७ सय करोड) पछि ढुक्कले प्रदर्शन हुन थालेको हो । युट्युबमा प्रदर्शनमा आएको केही दिनमै दक्षिण भारतीय फिल्म नेपालको युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुग्नुले नै फिल्मप्रतिको क्रेज झल्किन्छ ।

अल्लु अर्जुनको क्रेज कति छ भन्ने कुरा चलचित्रमा उनको प्रवेशमा दर्शकले गर्ने हुटिङबाट पनि झल्किन्छ । त्यतिमात्रै होइन, उनको हिँड्ने र बेलाबेला दाह्रीमा हात लैजाने शैलीमा पनि थुप्रै टिकटक भिडियो बनाइएको छ ।

दक्षिण भारतीय फिल्म उद्योगको स्टार हुन् अल्लु अर्जुन । बहुप्रतिक्षित मानिएको उनको फिल्म’पुष्पा’ले गत शुक्रबारदेखि भारतका हलमा मात्रै होइन नेपालकै हलमा पनि दर्शकको ओइरो लगाइदिएको छ । कोभिडपछि प्रदर्शनमा आएको ‘सूर्यवंशी’पछि हलसम्म दर्शकको भीड जम्मा गर्न सफल यो फिल्म ‘स्पाइडरम्यान: नो वे होम’सँगै प्रदर्शनमा आएको हो ।

प्रदर्शनको एक साता बित्न लाग्दा पनि फिल्मले नेपालमा हाउसफुल दर्शक पाउनु अल्लुले कमाएको फ्यानको प्रतिफल हो । बलिउड मसालाले भरिएको यस फिल्ममा रक्तचन्दन तस्करीमा लागेका पुष्पा(अल्लु)को कथा देखाइएको छ । जो, आम मजदुरीको काम छोडेर इज्जत/पैसा कमाउनकै लागि रक्तचन्दनको तस्करी गर्ने गिरोहमा मिसिन पुग्छन् । सुरुमा रक्तचन्दन काट्ने र ओसार्ने कामदार बन्छन् । एकदिन डीएसपी गोविन्दप्पाले जंगलमा छापा मार्ने क्रममा तस्करी गरिएका रक्तचन्दन उनको आँखै अगाडि लुकाउन सफल भएपछि तस्कर गर्ने माफियाबीच पुष्पाले भरोसा कमाउँछ । त्यसपछि रक्तचन्दनको तस्करमा कुख्यात कोन्डा रेड्डीको पार्टनर बन्छन्। अरुका अगाडि झुक्न नचाहने, हठी स्वभावका पुष्पाले रक्तचन्दनलाई गोविन्दप्पाबाट बचाउँदै नाफाको व्यापार सुरु गरिदिन्छन् । तर त्यसैबीच पुष्पाकै कारण सिन्डिकेटर मंगलम श्रीनुले तस्करसँग कम मूल्यमा रक्तचन्दन किनेर व्यापारीलाई धेरै रकममा बेच्ने गरेको वास्तविकता बाहिरिएपछि कोन्डा र श्रीनुबीच दुस्मनी बढ्छ । सिन्डिकेटरसँगै दुस्मनी बढेपछि कोन्डाले रक्तचन्दनको व्यापार कसरी गर्लान् ? के पुष्पा सँधै गोविन्दप्पाको आँखा छलेर रक्तचन्दन तस्करी गर्न सफल बन्लान् ? ‘पुष्पा’को कथायत्ति हो ।

सामान्य मजदुरीबाट पुष्पा कसरी उदाउँछ तीन घण्टा लामो फिल्मले पुष्पालाई उठाउन भरमग्दुर प्रयास गरेको छ ।भन्न खोजिएको कथा सजिलै भनिदिएको भए पुष्पाको कथा लम्बाइरहनु पर्थेन । तर निर्देशकले भन्न खोजेको कथा सजिलै भन्न नसक्दाको परिणाम बन्यो, पुष्पा । फिल्मको मुख्य द्वन्द्वमा पटकथाकार अलमलिएपछि’पुष्पा’को कथा उपकथातिर छरिएको छ । श्रीवल्लीसँगको प्रेम अनि पुष्पाको पारिवारिक पृष्ठभूमिमा धेरै समय खर्चिइएको छ । क्लाइमेक्स पनि त्यति चुस्त लाग्दैन । क्लाइमेक्सका कति दृश्य त दर्शकले पहिल्यै अनुमान गर्न सकिने किसिमका छन् । मध्यान्तरपछिको कथा रक्तचन्दन तस्करीको विषयवस्तुलाई उठाउनुभन्दा पनि बढी तस्करहरुबीचको दुस्मनी सल्टाउनमै केन्द्रित हुन्छ । त्यतिबेलासम्म दर्शकले रक्तचन्दनको विषय बिर्सिसक्छन् ।

फिल्म सम्पादनका कमजोरी दर्शकलै सहजै थाहा पाउने खालका छन् । पानीमाथिबाट बग्दै गरेको रक्तचन्दनको दृश्यमाथि विश्वास गर्न गाह्रो हुन्छ । पानीमा काठभन्दा पनि प्लास्टिक बगेको जस्तै दृश्य देखिन्छ ।

फिल्ममा पात्रहरुको स्थापनामा मात्र होइन ‘सेफ ल्यान्डिङ’मा समेत समय धेरै लगाइएको छ । कुनै पनि कथाको अन्त्यतिर पात्रहरुको सटिक अवतरण गरिन्छ । तर ‘पुष्पा’मा कथाको अन्त्य त हुन्छ तर नयाँ पात्रहरु थपिँदै जान्छ । तस्करीहरुबीचको दुस्मनीमा सिन्डिकेटर श्रीनुका साला मारिन्छन् । श्रीनुकी पत्नी पुष्पासँग बदला लिन चाहन्छिन् । त्यसैको रिसमा श्रीमान्‌को घाँटीमा ब्लेड चलाइदिन्छन् । उता गोविन्दप्पापछि अर्का डीएसपी भवरसिंह सेखावतको इन्ट्री हुन्छ । डीएसपी शेखावतको पात्र स्थापनाका लागि कथालाई बढी नै तन्काइएको छ । तीन घण्टा लामो ‘पुष्पा’को कमजोर पक्ष नै यो हो ।

‘भाग २’कै लागि कथालाई तन्काइँदा ‘पुष्पा’ले अर्को भागका लागि दर्शकमा कौतुहलता भने खासै राख्दैन । सेखावतको कथाले न त दर्शकलाई फिल्मसँग जोडेर राख्छ न त फिल्मलाई रोचक बनाउँछ नै । फिल्ममा यति धेरै पात्रहरु देखाइन्छन् कि ती पात्रहरुलाई किन महत्त्वका साथ पर्दामा देखाइयो भन्ने नै पुष्टि हुन्न । सुरुवातमा शक्तिशाली देखाइएको गोविन्दप्पालाई एकैचोटी कमजोर देखाउनु न्यायपूर्ण देखिँदैन । श्रीनु, कोन्डा रेड्डीका भाइ जोली रेड्डी, जक्का रेडीलाई शक्तिशाली पर्दामा बिनाकाम धेरै समय दिइएको छ । अभिनेत्री श्रीवल्ली(रस्मिका मन्दना) लाई भूमिकालाई पनि परम्परावादी शैलीमा प्रस्तुत गरेर कमजोर बनाइएको छ ।

पुष्पालाई बलियो देखाउनकै लागि फिल्मको केही दृश्यमा उनी अटाएकी छन् । केबल नायकसँगको रोमान्सका लागि उनलाई भूमिका दिइएको जस्तो देखिन्छ । ‘पुष्पा’को यीनै कमजोरीले अल्लु अर्जुनको प्रतिक्षित मानिएको फिल्मलाई ‘अचारबिनाको खल्लो परिकार’ बनाइदिएको छ । तर, अल्लु र फहाद फासिल(शेखावत) को अभिनयले फिल्मको कथामा केही प्रतिशत भए पनि प्राण भरिदिएको छ । अभिनेत्री रस्मिकाले पनि आफ्नो चरित्रलाई न्याय दिएकी छन् । एक मुक्काले १० जनालाई उडाउन सक्ने एक्सन, जबरजस्त घुसाइएको मेलोड्रामा र बन्दाबन्दैको बिग्रिएको कथा हेर्न चाहने अल्लु अर्जुनका फ्यानले मात्र यो फिल्मलाई झेल्न सक्नेछन् ।

सभार कान्तिपुर