
भजनी, कैलाली — लालबोझीबाट भजनी आउजाउ नगरी हुँदैन । आउजाउ गर्न कान्द्रा नदी तर्नुपर्छ । काठे साँघुबाट वारपार गर्दा स्थानीय बासिन्दालाई नै शुल्क लाग्छ । भजनी नगरपालिका–५ लालबोझी कर्मदेवका जोगी चौधरी सधैंजसो भजनी बजार आउजाउका लागि कान्द्राको काठेपुल वारिपारि गर्छन् ।
पुल वारपार गर्दा उनले स्थानीय सरकारलाई दैनिक ५० रुपैयाँसम्म तिर्नुपरेको छ । भजनी नगरपालिकाले वडा ५ मा पर्ने लालबोझीका बासिन्दाको आउजाउ सहज बनाउन कान्द्रा नदीमा बर्खामा डुंगा र हिउँदमा काठेपुल सञ्चालनको ठेक्का लगाउँदै आएको छ । उक्त घाटको काठेपुल तर्दा स्थानीयले नगरपालिकालाई पैसा तिर्नुपरेको छ ।
लालबोझीका बासिन्दाको दैनिक उपभोग्य वस्तु खरिद गर्ने बजार पनि भजनी नै हो । उनीहरूले दैनिक पुल नतरी धर छैन । भजनी बजारबाट झन्डै एक किलोमिटर पर बस्ने चौधरीले कहिलेकाहीं दिनमै पाँच/सात पटकसम्म पनि नदी वारपार गर्नुपर्ने हुन्छ । उनले महिनाभरि १५ सयभन्दा बढी पुल तर्नै खर्च हुने गरेको बताए । ‘कृषि पेसा गर्ने हामीलाई महिनाको १५ सय धेरै ठूलो हो,’ उनले भने, ‘बर्खामा डुंगामा ज्यानको जोखिम हुन्छ । धेरै पटक डुंगा पल्टेर दुर्घटना पनि भएको छ ।’ चौधरीले हिउँदमा काठेपुलबाट तर्दासमेत खसेर दुर्घटना हुने गरेको बताए ।
‘साइकलबाट समेत यो काठेपुलबाट कति ढलेका छन्,’ उनले भने, ‘यो ठाउँमा कहिले गतिलो पुल बन्ने हो ? हेर्दै ११ वर्ष पुग्यो ।’ लालबोझीवासीको दिनहुँ भजनी ओहोरदोहोर गर्दा जनही दिनमा कम्तीमा ४०/५० रुपैयाँ खर्च हुने गरेको छ ।
कर्मदेव घाट सञ्चालन गर्न यो वर्ष स्थानीय भीमबहादुर विकलाई १ लाख २६ हजारमा ठेक्का दिएको नगरपालिकाको राजस्व शाखा प्रमुख पूर्ण जोशीले बताए । ठेकेदारले पुल प्रयोग गरेबापत प्रतिव्यक्ति पैदल १०, साइकलसहित १५ र मोटरसाइकललाई २५ रुपैयाँ लिने गरेको छ । ‘स्थानीय घाटहरूमा पहिला सामुदायिक वन समिति र क्लबहरूले बर्खामा डुंगा र हिउँदमा काठेपुल सञ्चालन गर्दै आएका थिए,’ जोगी चौधरी भन्छन्, ‘स्थानीय तहको निर्वाचन भएपछि स्थानीय सरकारअन्तर्गत नदीका घाटहरू सञ्चालन गर्न खोजिएको हो ।’ अघिल्ला वर्ष मोहना, पथरिया, काडा र कान्द्रा गरी ५ ठाउँमा ठेक्का दिइएको थियो । यसपालि यो घाटमा मात्रै ठेक्का लागेको उनले बताए । ठेक्का सम्झौतामा स्थानीय विद्यार्थी र सरकारी कर्मचारीलाई भने निःशुल्क वारपार गराउने उल्लेख रहेको उनले बताए ।
आफ्नै गाउँमा बाटोघाटो प्रयोग गर्दा पनि नगरपालिकालाई पैसा तिर्नुपरेको भन्दै स्थानीय असन्तुष्ट छन् । ‘पहिला समुदायबाटै डुंगा र पुल सञ्चालन गर्दा लागेको खर्च वारपार गर्नेहरूबाट उठाउँथ्यौं । समुदायकै मान्छेले चलाउने र आम्दानी पनि यहीं खर्च हुँदा खासै चित्त दुख्दैन्थ्यो,’ स्थानीय हिक्मत साउदले भने, ‘स्थानीय सरकारले नै गाउँलेबाट बाटो हिँडेको पैसा लिनु ठीक लागेन । जाबो काठेपुल तरेको पनि ठेक्का दिएर स्थानीयबाट कर लिनु कहाँसम्मको उचित हो ?’ स्थानीय सरकारले आफ्नै जनताको नदी तर्ने समस्यालाई सम्बोधन नगरेर आम्दानीको स्रोत बनाएको उनको गुनासो छ । ‘स्थानीय सरकारले सके पक्की पुल बनाइसक्नुपर्ने हो,’ उनले भने, ‘सकेको छैन भने काठेपुल तरेको पैसा लिनु त हुन्थेन ।’
स्थानीयले लालबोझी र भजनी जोड्ने पुल निर्माण हुनुपर्ने माग राख्दै आएका थिए । हुलाकी सडकको पुल निर्माणको ठेक्का सम्झौता भएपछि स्थानीय खुसी थिए । तर ठेक्का लागे पनि कामै भएन । हुलाकी सडकको पुल अहिलेको काठेपुलभन्दा ५ सय मिटर पूर्वमा निर्माणाधीन अवस्थामा छ । यो पुल २०६८ सालमै ठेक्का सम्झौता भएको थियो । हुलाकी सडक आयोजनाले निर्माणको काम अहिलेसम्म ६० प्रतिशत मात्रै पूरा भएको जनाएको छ । अर्का स्थानीय वीरबहादुर साउदले भने, ‘पुल बनिदिए बर्खामा नदीको बाढी लाग्दा ज्यान जोगाउन सजिलो हुन्थ्यो ।’
लालबोझीका बासिन्दाले कान्द्रा तरेर भजनी आउजाउका लागि अरू तीन ठाउँमा हिउँदमा काठेपुल र बर्खामा डुंगा चलाउने गर्छन् । नदी तरेबापत भएको आम्दानी स्थानीय सामुदायिक वन र क्लबहरूले भएको आम्दानी आफ्नै समुदायको विकासमा खर्च गर्छन् ।
कैलालीको मध्यभागका बस्तीबीच बग्ने कान्द्रा, पथरिया र काडा नदीमा तीन दर्जनभन्दा बढी ठाउँमा कतै स्थानीय र कही समुदायस्तरबाट काठे पुल राखेका छन् । पुल प्रयोग गर्नेहरूबाट सबै ठाउँमा आफ्नो किसिमले शुल्क तय गरेका छन् । कैलारी गाउँपालिकाको मोहना नदी पारिका शिवरत्न, मोहनापुर र हौसलपुर तीन गाउँका बासिन्दालाई पनि हिउँदमा काठेपुल र बर्खामा डुंगामा तर्नुपर्ने समस्या छ । यहाँ स्थानीय समुदायले पुल सञ्चालन गरेको छ ।
गत वर्ष कैलारी गाउँपालिकाले तारउतार ठेक्काबाट वार्षिक ५ लाखभन्दा बढी राजस्व संकलन गरेको थियो । यो वर्ष कोरोनाका कारण अन्तर्राष्ट्रिय सीमा नदी मोहनाका तीन गाउँका घाटहरू सञ्चालन नगरेको गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले बताए । उनले मोहना पारिका गाउँलाई जोड्ने झोलुंगे पुलको ठेक्का पनि भएको बताए । ‘अर्को वर्षदेखि मोहनापारिका बासिन्दाले नदी वारपारको समस्या भोग्नु पर्दैन होला,’ उनले भने ।