images

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्चको आदेशविरुद्ध अनशन बस्ने केसीको चेतावनी

  • ५ असार २०८१, मंगलवार

काठमाडौं । गोविन्द केसीले झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन भनेर सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् । डा. केसीले आज विज्ञप्ति जारी गर्दै आफ्नो माग पूरा नभए असार १४ गतेदेखि सत्याग्रह (अनसन) सुरु गर्ने चेतावनी दिएका हुन् । दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन हालै सर्वोच्च अदालतको संयुक्त इजलासबाट भएको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै आएका केसीले त्यसमा पुनरावलोकन आवश्यक रहेको बताएका छन् ।

उनले उक्त फैसलाको न्यायिक पुनरावलोकनको प्रक्रिया शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई अनुरोध समेत गरेका छन् । झापाको विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजले मापदण्ड पूरा नगरेको भन्दै त्यसलाई सम्बन्धन दिन नहुने लगायतका माग गर्दै केसी विगतमा अनसन बस्दै आएका थिए । तर गत चैत १२ गते न्यायाधीशद्वय कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले बीएण्डसीलाई सम्बन्धन दिन आदेश दिएको थियो । फैसलालगत्तै निवेदक पक्षले ईजलासका वरिष्ठतम न्यायाधीशको नामै लिएर प्रशंसा गर्नुले पनि उक्त फैसला नियतबस निज निवेदकको पक्षमा गरिएको थियो भन्ने पुष्टि हुन्छ,’ केसीले भनेका छन् । आयोगलाई नेता र माफियाहरूका स्वार्थपूर्ति गर्ने थलोको रूपमा विकसित गर्ने क्रममा राजनीतिक दलका शीर्षस्थ नेता, कार्यकर्ता र केही न्यायाधीशदेखि लिएर विभिन्न तत्व अहिले बढी सक्रिय भएको आरोप केसीले लगाएका छन् ।

आयोगका पूर्व पदाधिकारीहरूले विगतमा अदालतको सामान्य त्रुटिपूर्ण फैसलाको विरुद्ध पुनरावलोकन प्रक्रियामा गई मुद्दा जितेको भन्दै केसीले इजलासका वरिष्ठतम् न्यायाधीशलाई न्याय सम्पादन कार्यबाट अलग्याई थप आवश्यक कारवाही अघि बढाउन न्याय परिषदको ध्यानाकर्षणसमेत गराएका छन् ।