
काठमाडौं । आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डरतर्फको वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरीले एकसाथ तीन स्थान सुधार गर्दै छैठौँ स्थानमा उक्लिएका छन् । यसअघिको वरीयतामा नवौँ स्थानमा रहेका दीपेन्द्र बुधबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा छैठौँ स्थानमा उक्लिएका हुन् । यसपटकको वरीयतामा दीपेन्द्रले भारतका हार्दिक पाण्ड्या, इंग्ल्यान्डका लाइम लिभिङस्टोन र इंग्ल्यान्डकै मोइन अलीलाई पछि पारेका छन्। नेपालकै कुशल मल्लको भने वरीयता एक स्थानले खस्किएको छ। यसअघि ३५ औँ स्थानमा रहेका कुशल एक स्थान तल झर्दै ३६औँ स्थानमा छन्।
यस्तै कप्तान रोहित पौडेलले एकैपटकमा ११ स्थान सुधार गरेका छन्। यसअघि ६६ औँ स्थानमा रहेका रोहितले ११ स्थान सुधार गर्दै ५५ औँ स्थानमा आइपुगेका हुन्। गुल्सन झाको वरीयता ६ स्थान तल झर्दा कुशल भुर्तेल ४३ स्थान अगाडि आइपुगेका छन्। गुल्सन ६८ र भुर्तेल ७० औँ स्थानमा छन्। नेपालका करण केसीको पनि वरीयता खस्किएको छ। उनी ६ स्थान तल झर्दा ७५औँ स्थानमा पुगेका छन् ।
विश्व वरीयतामा अस्ट्रेलियाका मार्कस स्टोनिसले पहिलो स्थान ओगटेका छन्। यसअघि पहिलो स्थानमा रहेका अफगानिस्तानका मोहम्मद नाबी तीन स्थान तल झर्दा श्रीलंकाका वानिन्दु हसराङ्गा दोस्रो र बंगलादेशका साकिव अल हसन तेस्रो स्थानमा छन्। जिम्बावेका सिकन्दर राजा एक स्थान तल झर्दा दीपेन्द्र भन्दा एकस्थान माथि पाँचौँ वरीयतामा छन्। आईसीसीले पछिल्लो खेलमा गरेको प्रदर्शनका आधारमा वरीयता निर्धारण गर्छ।