images

अन्तिम दुई ओभरमा सम्हालिन नसक्दा इङल्याण्ड दक्षिण अफ्रिकासँग पराजित

  • ९ असार २०८१, शनिबार

काठमाडौँ । दक्षिण अफ्रिकाले इङल्याण्डलाई पराजित गरेको छ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा दक्षिण अफ्रिकाले इङल्याण्डलाई ७ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको १६३ रनको लक्ष्य पछाएको इङल्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएपछि दक्षिण अफ्रिका ७ रनले विजयी भयो ।

यो जितपछि दक्षिण अफ्रीकाले सुपर आठमा लगातार दुई खेल जितेको छ र सेमिफाइनल नजिक पुगेको छ । यस विश्वकपमा दक्षिण अफ्रिकाको यो लगातार छैटौं जित हो । त्यस्तै इङल्याण्डले भने सुपर आठको दोस्रो खेलमा एक जित र एक हार बेहोरेको छ ।

अब सुपर आठको अन्तिम खेलमा दक्षिण अफ्रिकाले सोमबार वेस्ट इन्डिजको सामना गर्ने छ भने इङल्याण्डले आइतबार राती अमेरिकासँग खेल्ने छ । अन्तिम दुई ओभरमा २१ रन बनाउन नसक्दा इङल्याण्ड हार बेहोर्न बाध्य भयो । उनाइसौ ओभरमा राबाडाले ७ रन मात्र दिए भने बीसौं ओभरमा इङल्याण्डले सात रन मात्रै बनाउन सक्यो ।