हो हामी मुर्ख बनौँ
मुर्खहरुले नै यो संसारमा
उथलपुथल ल्याएका हुन् ।
ठूला ठूला क्रान्ति जन्माएका हुन् ।
ठूला ठूला साहित्य जन्माएका हुन्
विज्ञानको चमत्कार देखाएका हुन्
आश्चर्यजनक इतिहास लेखाएका हुन् ।
स्वर्ग र नर्कको बाटो देखाएका हुन्
मानवता र दानवता जन्माएका हुन्
भक्ती र मुक्तिको मार्ग देखाएका हुन्
त्यसैले हामी मुर्ख बनौँ ।
हो साँच्चिकै
राम र रावण मुर्ख नबनेको भए
रामायण जन्मिने थिएन ।
पाण्डव र कौरब मुर्ख नबनेको भए
महाभारत जन्मिने थिएन ।
पैगम्बर मोहमद मुर्ख नबनेको भए
कुरान जन्मिने थिएन ।
जेशस क्राइष्ट मुर्ख नबनेको भए
बाइबल जन्मिने थिएन ।
बुद्ध मुर्ख नबनेको भए
दुख मुक्तिको दर्शन जन्मिने थिएन ।
वीरस्पती मुर्ख नबनेको भए
चारबाक दर्शन जन्मिने थिएन ।
ऋषिमुनिहरु मुर्ख नबनेको भए
वेद वेदान्तहरु जन्मिने थिएनन् ।
त्यसैले हामी मुर्ख बनौ
हेगेल र फायरबाख मुर्ख नबनेको भए
द्वन्द्ववाद र भौतिकवाद जन्मिने थिएन ।
माक्र्स र एङ्गेल्स मुर्ख नबनेको भए
माक्र्सवाद जन्मिने थिएन ।
राइट दाजुभाइ मुर्ख नबनेको भए
जेट प्लेनहरु बन्ने थिएनन् ।
न्युटन र आइस्टाइनहरु मुर्ख नबनेको भए
अनु परमाणु बम बन्ने थिएनन् ।
स्पाटाकस मुर्ख नबनेको भए
दासहरु मुक्त हुने थिएनन् ।
लेनिन र स्टालिन मुर्ख नबनेको भए
रसियन क्रान्ति हुने थिएन ।
माओ र चाओ मुर्ख नबनेको भए
चिनिया क्रान्ति हुने थिएन
फिडेल र चे मुर्ख नभएको भए
क्युवाली क्रान्ति हुने थिएन ।
पृथ्वीनारायण शाह मुर्ख नबनेको भए
एकिकृत नेपाल बन्ने थिएन ।
त्यसैले हामी मुर्ख बनौ
दशरथ र गंगालालहरु मुर्ख नबनेको भए
राणा शासन ढल्ने थिएन ।
पुष्पलालहरु मुर्ख नबनेको भए
नेपाल कम्युनिस्ट पार्टी जन्मिने थिएन ।
विपिहरु मुर्ख नबनेको भए
नेपाली काङ्ग्रेस जन्मिने थिएन ।
केपी र सिपीहरु मुर्ख नबनेको भए
झापाली विद्रोह जन्मिने थिएन ।
काङ्ग्रेस र कम्युनिस्ट मुर्ख नबनेको भए
पञ्चायत ढल्ने थिएन ।
प्रचण्ड र किरणहरु मुर्ख नबनेको भए
जनयुद्ध जन्मिने थिएन ।
माओवादीहरु मुर्ख नबनेको भए
गणतन्त्र आउने थिएन ।
आदिवासी र मधेसी मुर्ख नबनेको भए
संघीयता आउने थिएन ।
दलितहरू मुर्ख नबनेको भए
छुवाछूत मुक्त राष्ट्र घोषणा हुने थिएन ।
महिलाहरू मुर्ख नबनेको भए
अंश र वंशको अधिकार मिल्ने थिएन ।
महावीर पुन मुर्ख नबनेको भए
आविस्कार केन्द्र खुल्ने थिएन ।
त्यसैले हामी मुर्ख बनौँ
हो साँच्चिकै हामीले
सुशासन ल्याउने हो भने
समृद्धि हासिल गर्ने हो भने
समतामूलक समाज बनाउने हो भने
बर्गीय असमानता हटाउने हो भने
वैज्ञानिक समाजवाद निर्माण गर्ने हो भने
साम्यवादी समाजमा जाने हो भने
हामी साधु सन्त हैन ।
भद्र र सालिन हैन
हामी मुर्ख बनौँ ।