
काठमाडौं । आईसीसी टी २० विश्वकप २०२४ को पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै पहिलो पटक फाइनलमा पुगेको छ । दक्षिण अफ्रिका यसअघि एकदिवसीयमा पाँच र टी२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको थियो । ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८. ५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे ।
टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमा अल आउट भएको थियो । अफगानिस्तानका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । आजमतुल्लाह ओमरजाईले १२ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए । गुलबदीन नैबले ९, राशिद खान र करिम जन्नतले ८–८ रन बनाए । दक्षिण अफ्रिका जितमा तीव्र गतिका बलर मार्को यानसनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए ।
कागिसो रबाडाले ३ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्कियाले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । तबरेज शाम्सीले १।५ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए । दोस्रो सेमिफाइनलमा आज राती इंग्ल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल शनिबार हुनेछ ।