
काठमाडौं । नयाँ चामल भन्दा पुरानो चामल धेरै सुगन्धित र स्वादिलो हुन्छ भनेर मानिसहरु अक्सर भन्छन्। तर प्रश्न उठ्छ, १० वर्ष पुरानो चामलको भात खानु स्वास्थ्यका लागि राम्रो हो कि होइन ? भर्खरै थाइल्याण्डका वाणिज्यमन्त्री फुमथम भेचायाचाईले १० वर्ष पुरानो चामलको भात खाएको भिडियो बाहिरिएसँगै मिडियामा यो प्रश्नको चर्चा सुरु भएको छ । थाई सरकारले हालै लिलामी गरेको १५ हजार टन चामल खान योग्य छ, भनी प्रमाणित गर्ने उनीहरुको उद्देश्यका लागि वाणिज्यमन्त्रीले दश वर्ष पुरानो चामलको भात खाएको भिडियो सार्वजनिक गरिएको थियो ।
सन् २०११ मा तत्कालीन थाइल्यान्डका प्रधानमन्त्री यंग लिक सिनावात्राले एक विवादास्पद योजना लागू गरेका थिए । जसअन्तर्गत ५४० लाख टनभन्दा धान किसानहरूबाट बजार मूल्यभन्दा बढी मूल्यमा खरिद गरि चामलको ठूलो भण्डारण गरियो । गत महिना थाइल्यान्डका वाणिज्यमन्त्रीले दस वर्ष पुरानो चामल बिक्रीको अनुगमन गर्न समिति गठन गर्ने घोषणा गरेका थिए । जुन १७ मा एक थाई कम्पनी ‘भी८ इन्टरट्रेडिङ’ले २८ करोड ६० लाख भाट (७८ मिलियन डलर) मा लिलामी गरेको थियो । तर १० वर्ष पुरानो चामल कति खानयोग्य छ भन्ने चर्चा अझै पनि चलिरहेको छ । तथापी यस योजनामा सरकारलाई करिब १५ अर्ब रुपैयाँ घाटा भएको थाई अर्थ मन्त्रालयले जनाएको छ ।
ठूला-ठूला गोदाममा भण्डारण गरिएको चामलको गुणस्तर प्रमाणित गर्ने प्रयासमा थाइल्याण्डका वाणिज्य मन्त्रीले मिडियाको अगाडि दस वर्ष पुरानो चामलको भात खाए। वाणिज्य मन्त्री फम्थम वेच्छ्याँईले चामलको दाना अझै सुन्दर देखिएको बताएका थिए । उनले सञ्चारकर्मीलाई चुनौती दिँदै जुनसुकै चामलको बोरामा प्वाल बनाएर चामलको गुणस्तर फरक नपर्ने बताए ।
उनले अनुसन्धानका क्रममा चामलमा विषाक्त रसायन नभेटिएको पनि बताए । प्रयोगशालाका अनुसार त्यो पुरानो चामलको पोषण पनि अहिले बजारमा पाइने चामलभन्दा फरक थिएन । च्यानल ३ नामक स्थानीय टेलिभिजन नेटवर्कले स्वतन्त्र प्रयोगशालाबाट चामलको अर्को परीक्षण गराएको थियो र नतिजा पनि त्यही चामल खानका लागि सुरक्षित रहेको थियो । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार चामललाई सुख्खा र चिसो ठाउँमा हावा नछिर्ने भाँडोमा राखेर लामो समयसम्म भण्डारण गर्न सकिन्छ । त्यस्तै, अमेरिकाको धान महासंघले चामललाई राम्ररी भण्डारण गरेमा ‘लगभग अनिश्चितकालका लागि’ प्रयोगयोग्य रहने बताएको छ ।
‘एफएओका अनुसार औषधि प्रयोग गर्दा सबै सावधानी अपनाएमा धानमा कुनै असर हुँदैन । चामललाई १० वर्षसम्म भण्डारण गर्दा त्यसको पौष्टिकतामा कमी आउँछ भन्ने प्रशनको जवाफमा एफएओले भन्यो, चामलमा थोरै मात्रामा पाइने सूक्ष्म पोषक तत्वको कमी भए पनि यसले धानको समग्र पोषणमा खासै फरक पार्दैन ।
बीबीसी हिन्दीबाट ।