काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी महामन्त्री डा. मुकुल ढकालको पार्टीको प्रतिवेदनले पार्टी विभाजन नजिक पुगेको आशंका गरिएको छ । पार्टीको राजनीतिक अवस्थाको समीक्षा गर्न भन्दै गत जेठ ६ गतेदेखि समीक्षा यात्रा सुरु गरी ३८ जिल्ला पुगेर महामन्त्री ढकालले तयार पारेको समीक्षा प्रतिवेदन बुधवार गृहमन्त्रीसमेतर रहेका रास्वपा सभापति रवि लामिछानेलाई बुझाएपछि रास्वपामा असन्तुष्टि विष्फोट भएर विभाजन उन्मुख गएको विश्लेषकहरु बताउँछन् ।
सभापति लामिछानेलाई प्रतिवेदन बुझाउनु अघि नै सञ्चारमाध्यममा प्रतिवेदनका अन्तरबस्तुहरु सार्वजनिक भएको भन्दै सभापति लामिछाने मात्रै होईन, पार्टीको ठूलो पङ्ती नै असन्तुष्ट बनेको छ । त्यसको असर सत्ता गठबन्धनमा समेत पुगेको छ। ढकाललाई पार्टीमा कारवाही गर्ने तयारी स्वरुप छलफल भएका छन् भनेर बिहीबार बिहानै चर्चा चलेपछि दिउँसोसम्म एकाएक राजनीति गर्माएर प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताले रास्वपाका सभापति र नेताहरुसँग एक्लाएक्लै र समूहगत छलफलसमेत गरेका छन्।
सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले बिहीबार रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेलाई बालुवाटारमा छलफलको लागि बोलाएका थिए। लामिछानेसहित नेता स्वर्णिम वाग्ले पनि उक्त छलफलमा सहभागी थिए भने सोही छलफलमा सत्ता साझेदार ठूलो दलका अध्यक्ष केपी शर्मा ओली पनि पुगेका बालुवाटार स्रोतले जनाएको छ।
रास्वपाले उनको प्रतिवेदनलाई लिएर आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन। रास्वापका नेताहरुका भने फरक फरक अभिव्यक्ति आएका छन्। सांसद शिशिर खनालले महामन्त्रीको प्रतिवेदनलाई गम्भीरता पूर्वक अध्ययन गर्ने बताएका छन् । त्यस्तै सांसद मनिष झाले उनलाई कारबाही नहुने दाबी गरेका छन्। रास्वपामा बुधबार साँझ मात्रै महामन्त्री ढकालले उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेलाई पार्टीको अवस्था निराशाजनक रहेको भन्दै प्रतिवेदन बुझाए पनि दिउँसैदेखि सञ्चारमाध्यममा प्रतिवेदन भएका कुराहरू बाहिर आएका थिए। सभापति लामिछानेसँग दूरी बढिरहेका बेला प्रतिवेदन पार्टीमा नबुझाई त्यसका विषयवस्तु सार्वजनिक गरेको भन्दै पार्टीको एउटा पंक्ति उनलाई तत्कालै जिम्मेवारीबाट हटाउनुपर्ने ‘लविङ’मा लागेको स्रोतको भनाइ छ।
‘समीक्षा यात्रा’ नाम दिइएको उक्त अभियानका क्रममा ३८ जिल्लाका २ दुई हजार ७९ जनासँग दोहोरो अन्तर्क्रिया गरी गरिएको ढकालले उल्लेख गरेका छन्। ढकालले पेश गरेको प्रतिवेदनमा पार्टी अघि बढ्नै नसक्ने अवस्थामा पुगेको र यदि यस्तै अवस्था रहे अर्को चुनावसम्म राष्ट्रिय पार्टीसमेत बन्न नसक्ने गरी दुई–तीन सिटमा खुम्चिने दाबी छ।
सभापति लामिछानेको कार्यशैली र उनीमाथि लागेका आरोपका कारण पार्टीको विस्तारभन्दा पनि खुम्चिने अवस्था बढ्दै गएको प्रतिवेदनमा उल्लेख भएको रास्वपाका एक नेताले बताए। ती नेताका अनुसार ढकालको प्रतिवेदनमार्फत रास्वपाभित्रको उकुसमुकुस विस्फोट भएको छ। सभापति लामिछानेप्रति इंगित गर्दै ढकालले आफूले गर्दै नगरेको कामको समेत जिम्मेवारी लिनुपरेको, जनतासमक्ष आफ्ना कुरा भन्नै नपाएको भनी दुखेसो गरेका छन्। साथै, उनले प्रतिवेदन जस्ताकोत्यस्तै सार्वजनिक गरिदिएर आफूमाथि न्याय गरिदिन आग्रहसमेत गरेका छन्। प्रतिवेदनले पार्टीभित्र र बाहिर‘भुँइचालो’ ल्याएपछि सभापति लामिछानेले बिहीबार बिहान पार्टी कार्यालयमा बैठक बोलाएका थिए।