काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेस सरकार परिवर्तन गर्न सहमत भएका छन् । प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट राम्रो काम नभएको र बजेट विनियोजन पनि समानुपातिक नगरेको भन्दै एमाले र कांग्रेसका शीर्ष नेता सरकार परिवर्तनको कसरतमा जुटेका हुन्। एमाले र कांग्रेसका दोस्रो तहका नेताहरूबीच भएको संवाद सकारात्मक भएपछि शीर्ष नेताको छलफल अगाडि बढेको हो। शनिबार र आइतबार पनि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो। उनीहरुबीच सैद्धान्तिक रुपमा सहमति अगाडि बढिसकेको स्रोतको भनाई छ।
स्रोतका अनुसार २/४ दिन भित्रै सत्ता समिकरण फेरबदल हुनेछ। उच्चस्रोतका अनुसार एमाले र कांग्रेसबीचको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर अगाडि बढ्न दुबै दल सहमति भएको बताइएको छ। उनीहरुबीच संसद्को बाँकी आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको बताइएको छ। केहि दिनभित्रै सानो मन्त्रिमण्डल बनाएर अगाडि बढ्न दुई दलभित्र गृहकार्य जारी रहेको छ। यता कांग्रेसले आज दिउँसो पदाधिकारी र पूर्वपदाधिकारी बैठकसमेत बोलाएको छ। बैठकमा सत्ता परिवर्तन र समसामयिक राजनीतिक विषयमा निर्णय हुने स्रोत बताउँछ ।