images

भ्रष्टाचारमा मुछिएका उच्च पदस्त नेताहरु धमाधम पक्राउ पर्ने त्रासमा एमाले र कांग्रेस

  • १९ असार २०८१, मंगलवार

काठमाडौं । माओवादी केन्द्रको मंगलबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रक्रियासम्मत रुपमा मात्रै पद त्याग्ने तर दबाबमा राजीनामा नदिने निर्णय गरेपछि ओलीको सत्तारोहण एक महिना पर धकेलिने पक्का भएको छ। प्रधधानमन्त्री दाहालले अन्तिम समयसम्म सत्ता नछाड्ने मनसायका साथ संसदीय प्रक्रियाबाटै हट्ने निर्णय गरेसँगै उता नयाँ गठबन्धनमा ‘डर’ पैदा भएको छ। एमाले सचिवालय बैठकले भने प्रधानमन्त्री दाहाललाई नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न अपिल गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार दिउँसो र मंगलबार बिहान प्रचण्डसँगको गरेको भेटमा छिटो सत्ता छाडेर आफूलाई सहज पारिदिन दबाब नै दिए। तर माओवादीले औपचारिक रुपमै संवैधानिक व्यवस्थाअनुसार संसदमा विश्वासको मत परीक्षण गर्ने निर्णय गर्यो । संविधाको धारा १०० ले सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिन पाउने प्रावधान छ। प्रधानमन्त्रीले चाहेमा एक दुई दिनमै विश्वासको मत माग्दै संसदमा जान सक्ने वा समर्थन फिर्ता लिएको ३०औँ दिनमा पनि जान सक्ने संसदीय अभ्यास र संवैधानिक प्रावधान छ।

यो अवधिमा सकेसम्म दाहालसहित विपक्षी कित्तामा पुगेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेस एमालेको गठबन्धन भत्काउन भरपुर लाग्नेमा कुनै शंका छैन। अर्कोतर्फ जाँदाजाँदै एमाले र कांग्रेस जोडिएका केही काण्डमा फाइल खोल्न सक्ने डर पनि छ। गृहमन्त्री रवि लामिछानेले फाइल खोल्दा खोल्दै बच्नका लागि रातारात नयाँ सत्ता गठबन्धन बनेको दाबी गरेका छन्। विशेष गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा वेचन झा र प्रतिक थापाको पक्राउले कांग्रेस एमालेलाई नजिकिन सहयोग गरेको दाबी राजनीतिक वृृत्तमा सुरु भएको छ।

यदि जाँदाजाँदै कांग्रेस एमालेलाई ‘झट्का’ दिने उद्देश्य दाहाल लामिछानेले यो अवधिमा उक्त प्रकरणसँग जोडिएका थप उच्च पदस्थ व्यक्तिलाई समेत पक्राउ गरेमा आश्यचर्यजनक नहुने माओवादीका एक नेता बताउँछन्। अरु महत्वपूर्ण विषयमा समेत दाहाल नेतृत्वको सरकारले आउने सरकार र कांग्रेस एमालेलाई असजिलो पार्ने निर्णय लिन सक्छन्।