
काठमाडौं । केही दिनयता देशभर सक्रिय मनसुन शुक्रबारदेखि अझ सक्रिय हुने र वर्षाको मात्रा बढ्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज (बिहीबार) साँझ मनसुन विशेष मौसम बुलेटिन ३ जारी गर्दै शुक्रबारदेखि वर्षा अझ बढ्ने सम्भावना देखिएकाले बाढी, पहिरोजस्ता जोखिमबाट बच्ने उपाय अपनाउन आम नागरिकलाई आग्रह गरेको हो।
‘विगत केही दिनदेखि मनसुन न्यून चापीय रेखाका कारण नेपालमा मनसुन सक्रिय हुन थालेकाले २०८१/०३/२० सम्म सतर्कताका लागि मिति २०८१/०३/१६ मा मनसुन विशेष मौसम बुलेटिन जारी गरिएको थियो’, बुलेटिनमा भनिएको छ, ‘सो न्यून चापीय रेखा थप केही दिन नेपालको दक्षिण भूभागरसिमाना आसपास नै रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले मिति २०८१/०३/२३ गते आइतबारसम्म सतर्कताका लागि आज विशेष बुलेटिन जारी गरिएको छ।’
बुलेटिनअनुसार शुक्रबार (असार २१ गते) देखि आइतबार (असार २३ गते) सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको सम्भावना छ।
आइतबारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन तथा पूर्व तयारी गर्नहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।