images

टीकापुर र भजनी अझै जलमग्न

  • २६ असार २०८१, मंगलवार

काठमाडौं । लगातारको वर्षापछि आएको बाढीले कैलालीका भजनी नगरपालिकाका ३ सय १३ र टीकापुर नगरपालिकाका १ सय ७४ परिवार विस्थापित भएका छन्। विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन्। भजनी नगरपालिका बाढीले सबैभन्दा बढी प्रभावित छ। भजनीका तीन सय १३ परिवार विस्थापित भएका छन् भने चार हजार आठ सय ४८ परिवार बाढीले प्रभावित भएका विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपानेले जानकारी दिए।

बाढीले भजनीमा अधिकांश सडकलाई क्षति पुर्‍याएको छ। भजनीमा खेतीयोग्य जमिन ७५ प्रतिशत डुबानमा परेको प्रमुख न्यौपानेले बताए। जलसतह नघटेकाले डुबानमा परेका घरमा के–कति क्षति भयो भन्ने विवरण आउन नसकेको नगरप्रमुख केवल चौधरीले जानकारी दिए। नगरप्रमुख चौधरी पालिकाले यस्तो विपत्तिमा एक्लैले धान्न नसक्ने भएकाले सङ्घीय सरकारले नै विपद्‌मा नागरिकका हितमा काम गर्नुपर्ने बताए।

भजनीमा विस्थापितहरू हुलाकी सडकमा पाल टाँगेर बसिरहेका छन्। बर्खाको समयमा माथिबाट वर्षा भइरहेको, तल लामखुट्टे, कीरा फट्याङ्ग्राको जोखिम रहेकाले सडकमा बसेकाहरूको अवस्था नाजुक रहेको स्थानीय कृष्ण धमालाले बताए। ‘खाद्यान्न, लुगाकपडा, वस्तुभाउ पनि सडकमा छन्, वस्तुभाउ र मानिसको बसाइ सँगै खुला आकाशमा कस्तो होला’, उनले भने, ‘मानिस विस्थापित भएर पनि बस्ने ठाउँ छैन, अझ आफैँ खानाको जोहो गर्न कठिन भएको छ। त्यसैमाथि सडक सहारा भएको छ।’

यस्तै लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकाको वडा नं ६ बढी प्रभावित भएको छ। वडा नं ६ मा बस्तीमा मोहना नदीको बाढी पसेपछि डुबानमा परेको हो। त्यहाँ विद्यालय र बस्तीमा पानी पसेको छ। टीकापुरमा बाढीले एक सय ७४ परिवार विस्थापित भएका छन्। टीकापुरमा भगवानपुरका २०, प्रेनीका ५०, नारायणपुरका नौ, मिलनपुरका ३५, भर्तापुरका ४५, सुन्दरपुरका १२ र बाघमाराका तीन परिवार विस्थापित भएको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिइन्।

टीकापुरको वडा नं ५ मा रानी जमरा सिँचाइ आयोजनाले निर्माण गरेको ड्याम, दौलतपुरमा रहेको तटबन्ध, वडा नं ६ को भर्तापुरमा पुल नजिक बाँधेको ड्याम भत्कने जोखिम रहेकाले तत्काल मर्मत गर्ने, मर्मतका लागि सिँचाइ आयोजनाको सहयोग लिने विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ। वडा नं ४ मा सिँचाइ आयोजनाले बनाएको इन्टेक साँघुरो बनाएकाले कहिल्यै बाढी नपसेको बाघमारामा पनि डुबान भएको वडाध्यक्ष लालवीर चौधरीले बताए।