काठमाडौं । सोमबार कञ्चनपुर पुनर्वास नगरपालिका–५ मा गाउँका तीन किशोरी एकै छिनमा एकै चिहान भए । सबैतिर बाढीले वितण्डा मच्चाइरहेको थियो ।प्रहरी प्रशासन उद्धारमा केन्द्रित थियो । करिब करिब सबैलाई सुरक्षित स्थलमा सारिसकेपछि उद्धार सामाग्री, प्रहरी र जनशक्ति फर्किसकेका थिए । त्यतिकैमा तीन जान किशोरी रातोखालेको पानीका डुबेर बेपत्ता भएको सूचना आयो ।
१५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १६ वर्षीया आरती बोगटी बेपत्ता भएको खबर उनीहरूसँगै रहेकी १२ वर्षकी अञ्जली बोगटीले सबैलाई खबर गरेपछि बेपत्ता भएकाहरूको खोजी सुरु भयो । अञ्जलीलाई पनि डुब्दा डुब्दै जोगाएको पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदम बहादुर रोकाया बताउँछन् । ‘उनीहरु चारै जना डुबेका थिए । अञ्जली नजिकै भएको हुँदा उनको सहजै उद्धार भयो । अरू गुहार माग्दा माग्दै बेपत्ता भए’ वडाध्यक्ष रोकायाले भने ।
त्यो बेलासम्म उद्धार सामाग्री पनि नगरपालिका लगिसकिएको थियो । उद्धार सामाग्री ल्याएर त्यहाँ पुग्दासम्म उनीहरुको मृत्यु भइसकेको थियो । तत्काल नै उनीहरुको उद्धार भएको भए तीनै जनाको ज्यान जोगिन सक्ने स्थानीयले बताएका थिए । उनीहरु डुबेपछि गुहार मागिरहेको र छेउमा रहेकाहरूले समेत उद्धार सामाग्री नहुँदा जोगाउन नसकेको प्रहरीले जनाएको छ । सोमबार डुबेर ज्यान गएका तीनै जना किशोरीको सामूहिक दाहसंस्कार गरिएको छ ।