images

आफूले विश्वासको मत नपाएमा धारा ७६ (३) मा सरकार बन्नेमा प्रधानमन्त्री प्रचण्ड विश्वस्त

  • २७ असार २०८१, बुधबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूले विश्वासको मत नपाएमा संविधानको धारा ७६ (३) मा सरकार बन्नेमा विश्वस्त देखिएका छन् । माओवादी संसदीय दलको बैठकमा प्रचण्डले बुधबार त्यही संवैधानिक विश्वासका साथ विश्वासको मत फेस गर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा असार २८ गते विश्वासको मत लिदैँछन् । विश्वासको मतका लागि दलको तर्फबाट ह्विप जारी गरेको छ । अरु राजनीतिक दल र स्वतन्त्र सांसदलाई पनि विश्वासको मत दिन आह्वान गर्ने निर्णय गरिएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री बनेका हुन् । उक्त धारा अन्तर्गत बनेका प्रधानमन्त्रीले विश्वासको मत नपाएमा उपधारा ३ अनुसार सरकार बन्नुपर्ने दाबी माओवादी नेताहरू बताउँछन् । ७६ (३) मा संसद्को सबैभन्दा ठूलो दलका नेता प्रधानमन्त्री बन्ने व्यवस्था छ । सदनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । कांग्रेस र एमालेबीच असार १७ गते नयाँ सत्ता समीकरणको सहमति भएको थियो । माओवादीले राजीनामा नदिएर विश्वासको मत फेस गर्ने निर्णय गरेको हो । एमालेले भने संविधानको धारा ७६ को २ कि ३ भनेर चलाइएको चर्चा–परिचर्चा उचित नभएको जिकिर लिएको छ ।