पछिल्ला राजनीतिक घटनाक्रमले राजनीतिलाई जालसाजी र कीर्तेको नामले चिन्ने बनेको छ । नयाँ पुस्ताले राजनीतिलाई झन् खराब चीजको अर्थमा बुझ्ने भएका छन् । देश र जनताको लागि त्यागको व्यवहार राजनीतिक हो । देश र जनताको नाममा कमाउने तथा वर्ग उत्थान हुनेहरूका व्यवहार लुटतन्त्र हो । पुराना पुस्ताबाट नयाँ पुस्ताले सिकेको राजनीति लुटतन्त्र हो । अहिले लुटतन्त्रलाई मानिसले राजनीति भनेर मानक बनाएका छन् । देशद्रोह र लुटतन्त्र अहिलेका युवा पुस्ताले सिकेको नयाँ पाठ हो । पुरानाको विस्थापन र नयाँको उपस्थितिको नारा यही नियतले लागेको सिवाय अरू हैन । राजनीतिलाई ढाँटछल, बेईमानी, सत्ता लिप्सा, दलालीबाहेक अरू केही हैन भन्ने सिकाएको छ ।
एउटा कामको पनि अपजस विना नै माके टिमलाई हटाउन तयार भएको देखेका जनताले चाहिँ इमानदार, राम्रो, विकासप्रेमी, सक्रिय, विवेकी मानिसलाई चुनावमा छान्छन् भनेर बुझ्नु आफैमा गल्ती हुन पुग्छ । उनीहरूका पहिलाका गतिविधिहरू राष्ट्रघात र जनघात त छँदै थियो, अहिले संविधान संशोधनको नाममा कुटिल चाल स्वरुप भ्रष्टाचारी र तस्करीका आरोपितहरू मिलेर सरकार बनाउन पुगेका छन् । जनताले छानेको मानिस भन्ने तर सबैभन्दा बेईमानी, धुर्त, छट्टू, किर्ने, झेली, ठग, भ्रष्टचारका पिता प्रधानमन्त्री हुन पुग्ने पटक-पटकका घटनाहरूले जनतालाई आफूले छानेको मानिस सहि हुन्छ भन्ने विश्वास कतैबाट पनि हुने बुझ्ने गर्दैनन् ।
प्रतिक्रियावादी ठूला दलका ३ जना युवाले आफूहरू एमसीसीवादी दाबी गर्दै गफिएको देख्नुभयो ? सुन्नुभयो ? अर्को त्यस्तै दलका मुख्य टिम नै पद र पावरका लागि भारतीय दुतावासमा धाएको र नेपाल भारतकै नयाँ स्टेट बनाउन पनि तयार भएको कुरा बाहिर आएको सुन्नुभयो नि ? राजा चाहियो भन्ने सामन्ती वर्गको दलमा हर्ताकर्ता हुनपुगेको नयाँ मान्छेले यो देश भारतमा गाभ्दा के फरक पर्छ ? भनेर बीबीसीमा बहस चलाउन पुगेको पनि देखिराख्नु भएकै छ । त्यस्ता नयाँ बन्दै नेपाललाई भारतमा गाभ्दा कसो होला भन्दै बहस चलाउने दुष्ट राजा आऊ, देश बचाऊ भन्ने सामन्ती बर्गको दलका गएर प्रभाव जमाएको देख्नुभयो नि ?
देश नयाँ पुस्ता, नयाँ दलहरू र स्वतन्त्रका नाममा आएका भाइरल युवाहरूबाटसमेत असुरक्षित छ भन्ने बुझ्नु हुन्न र ? जसको नीति उसको नेतृत्व भन्ने नीति विपरित पुराना शासक पुन सरकार चलाउन आए । ३२ से नै भएपनि नयाँ व्यवस्थामा मुल स्वामित्व भएको माओवादी केन्द्रले चलाउनै पाएन । यस नीति विपरित बाबुराम पनि देखिए । उनको नयाँमा हस्तान्तरण भन्ने हावादारी कुरामा बहकिएको अराजक भीडले अहिले आफ्नो प्रभाव देखाएर राजनीतिक व्यवस्थामा झन् प्रतिगमनको स्थिति देखिएको छ । यही कारण साम्राज्यवादी, विस्तारवादी, सामन्तवादी प्रभाव विस्तार भएको छ ।
यस्ताबाट दलाल, भ्रष्ट, तस्कर, कमिशनखोर, लुटेराहरूको हातमा राजनीतिक अधिनायकता हुन पुगेको छ । देख्नुभएकै छ, उक्त शक्तिले माके नेतृत्वको सरकार नै ढालेर उनीहरूको सरकार बनाईनै सके । जनक्रान्ति बाहेक यो प्रतिगमनको यात्रा अर्थात प्रतिक्रान्ति रोक्ने अरू कुनै उपाय नै छैन । माओवादी आन्दोलनको पुनर्गठनमा लागिहाल्ने अवस्थामा ढिलाई गर्नु आफैंमा भयङ्कर भुल हुनेछ । सही ढङ्गले साजनीतिक चाल चालेर सचेत पहल लिन सकिएन भने देश र जनताको अर्को प्रतिगामी धक्का व्यहोर्नुपर्नेछ ।