
काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफ्नो पदको लेटरहेडमा अमेरिकी दूतावासलाई चिठी लेख्दै संसदसँग गैरसम्बन्धित पाँच व्यक्तिको अन्तर्वार्ता मिलाइदिन एक वर्षअघि गरेको आग्रहबारे सूचना चुहिएपछि सांसदहरुले चासो आपत्ति जनाएका छन् । शुक्रबार कार्यव्यवस्था समिति बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख राना, कानुनमन्त्री अजय चौरसियालगायतसँग राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले रानालाई मानव तस्करहरुले दुरुपयोग गरेको देखिन आएको भन्दै ध्यानाकर्षण गराए ।
‘उपसभामुखजस्तो गरिमामय पदमा बसेको व्यक्तिलाई मानव तस्करहरुले दुरुपयोग गर्दै पैसा लिएर मान्छे विदेश पठाउन खोजेको देखियो, यसमा म सभामुखज्यूको ध्यान आकृष्ट गर्छु,’ खतिवडाले भने, ‘यति गम्भीर प्रश्न उठिसकेपछि उपसभामुखज्यूले राजीनामा दिएर नैतिकता देखाउनुपर्छ कि पर्दैन ? भन्दै प्रश्न गरे । खतिवडाले यसअघिको सरकारमा रहने विभिन्न पदाधिकारीले सुशासन निर्माणका लागि अनियमितता र गलत काममा फाइल खोल्ने भनी बोल्दै आए पनि यति गम्भीर विषयमा भने मौन रहन खोजेको आरोप पनि लगाए ।
खतिवडाले आफू सभापति रहेको राज्यव्यवस्था समितिमा राना जोडिएको पत्र र यससँग सम्बन्धित विषयमा उजुरी नै परेको भन्दै छिटो सम्बोधन गर्न माग गरे । संसदीय समितिको बैठकमा माओवादीका हितराज पाण्डे, रास्वपाका सन्तोष परियारलगायत विभिन्न दलका प्रतिनिधि सहभागी थिए । खतिवडाले बताए अनुसार उक्त उजुरीमा व्यक्तिहरुको पैसा लिएर अमेरिका पठाउन वातावरण मिलाइदिने आश्वासन दिइएको उल्लेख छ । रानाले शुक्रबार नै प्रष्टीकरण दिँदै आफूलाई निराधार रुपमा मुछ्ने काम भएको असन्तोष जनाएकी छन् ।