
काठमाडौ । चितवनको फिस्लिङमा पहिरो जाँदा अढाई घण्टादेखि मुग्लिन काठमाडौँ सडक अवरुद्ध भएको छ।सोमबार बिहान पौने पाँच बजे चितवनको इच्छाकामना- ६ फिस्लिङ भन्ने ठाउँमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनकी इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन्।
‘केहीबेरअघिबाट एउटा जेसीभी प्रयोग गरेर सडकको लेदो हटाउन थालिएको छ। हामीले पहिरो हटाउन लोडर पनि मगाएका छौँ,’ उनले भनिन्, ‘सम्पूर्ण पहिरो हटाएर सडकमा यातायात सञ्चालन गर्न अझै केही समय लाग्छ।’पहिरोले गाडी रोकिँदा सयौँ सवारी साधनको सडकमा लाम लागेको छ। यसले काठमाडौँबाट बाहिरिँदै गरेका र देशका विभिन्न स्थानबाट राजधानी भित्रिँदै गरेका हजारौँ यात्रु मर्कामा परेका छन्।