
काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ मा एक लाख १२,५९३ विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा २०८० साउन १ गतेदेखि ०८१ असार ३१ सम्म सो संख्यामा एनओसी जारी भएको उल्लेख छ । यस अवधिमा ९४ वटा विषय पढ्न नेपाली विद्यार्थी ६६ वटा देश गएका छन् । तीमध्ये सबैभन्दा धेरै ३४,७३१ जनाले जापानका निम्ति एनओसी लिएका छन् ।
विद्यार्थीको दोस्रो रोजाइमा क्यानडा छ । क्यानडा जान सो अवधिमा १५,९८२ विद्यार्थीले एनओसी लिएका छन् । तेस्रोमा अष्ट्रेलिया छ । सो देशका निम्ति १४,३७२ वटा एनओसी जारी भएको छ । यस्तै, युकेका निम्ति १३ हजार ३३९, यूएसएका निम्ति ११ हजार २६१, कोरियाका निम्ति ६ हजार ८८९, भारतका निम्ति दुई हजार ३८९ र यूएईका निम्ति दुई हजार १४७ एनओसी जारी भएका छन् । यीबाहेक अन्य मुलुक जान एनओसी लिनेको संख्या दुई हजारभन्दा कम छ । सबैभन्दा धेरै ३३ हजार ६९७ वटा एनओसी जापनिज् भाषा विषयमा जारी भएको छ । यस्तै, म्यानेज्मेन्टमा २८ हजार ८९१, विजनेसमा १० हजार २९ तथा आईटीमा पाँच हजार ९११ एनओसी जारी भएका छन् ।