images

एमाले-कांग्रेसले संविधानमा कैची चलाउन खोजे कडा प्रतिवाद गर्ने तीन नेताको चेतावनी

  • १२ श्रावण २०८१, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले आफूहरु एकै ठाउँमा रहेको र कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्न खोजे कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । पुष्पलालको जन्म शताब्दीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले दुई ठूला दल मिलेर जनताको प्राप्त उपलब्धि र अधिकार खोस्न खोजेको र त्यसको प्रतिवाद गरिने बताए ।

कार्यक्रममा प्रचण्डले भने, ‘दुई ठूला दल मिल्नु सामान्यतः स्वाभाविक हुँदैन । देशलाई दुई दलीय व्यवस्थामा लाने र संविधान संशोधनको उद्देश्य लिएर मिलेको देखिन्छ । जनताले लामो आन्दोलन र ठूलो बलिदानीपछि प्राप्त अधिकार खोस्ने प्रयत्न हुँदैछ । त्यो हुन दिँदैनौं । आवश्यक परे फेरि सडकमा पलेँटी कसेर बस्न तयार छौं ।’ संविधान संशोधनको पक्षमा आफू पनि रहेको बताउँदै उनले संशोधनको नाममा प्रतिगमनतिर फर्काउने प्रयास स्वीकार्य नहुने बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि संविधान संशोधनको बहस आवश्यक रहेको भए पनि गुपचुप गरेकाले आशंका देखिएको बताए । अध्यक्ष नेपालभन्दा यो विषयमा कांग्रेस र एमालेप्रति नेता खनाल आक्रोशित सुनिए । नेता खनालले दुई पार्टीको अधिनायकवादको विरुद्ध मेचीदेखि महाकालीसम्म संग्राम सुरु गर्ने चेतावनी दिए ।

समानुपातिक प्रणालीलाई चलाउन खोजे आफूहरु मौन नबस्ने उनको भनाइ थियो । त्यसो त नेकपाकालमा ओलीले संसद विघटन गरेपछि प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल त्यसको विरुद्धमा माइतीघरको सडकमा पलेँटी बसेका थिए । अहिले पनि संविधान चलाउन खोजे सदनदेखि सडक चर्काउने अभिव्यक्ति दिँदै आएका नेताहरुले आफूहरु फेरि सडकमा बस्न तयार भएको अभिव्यक्ति दिएका हुन् ।