काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनी ठगी गरेको कसुरमा पक्राउ परेका बेचन झाको पहिलो चरणको बयान सकिएको छ। असार १३ गते पक्राउ परेका झामाथि ठगी, लिखत किर्ते, राज्य विरुद्धको कसुर र संगठित अपराधमा प्रहरीले अनुसन्धान गरिरहेको छ । झाले आफूमाथि लागेका सबै आरोपको इन्कार गर्दै बयान दिएका छन्। उनका दुई वटा मोबाइल प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ। ल्याबको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले बताएको छ ।
ल्याबबाट यस विषयमा कुनै प्रमाण खुलेमा त्यसको आधारमा थप बयान गराउने प्रहरीको तयारी छ। उनले मन्त्रिपरिषदसम्म मिलाउने भनेको यसअघिका प्रतिवादीहरुले बयान दिएकाले अनुसन्धान उच्च तहसम्म पुग्ने अनुमान प्रहरीको थियो। यसअघि पक्राउ परेका रामशरण केसीलाई सानु भण्डारीले भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यका लागि मन्त्रिपरिषदबाटै बेचन झाले केही निर्णयहरु गराउँछन् भनेको बयान दिएका थिए। उक्त निर्णयहरुको आधारमा अमेरिका तथा तेस्रो मुलुकमा शरणार्थी पठाउन सजिलो हुन्छ भन्दै बेचन झालाई चेक मार्फत २ करोड रुपैयाँ दिएको बयान रामशरण केसीले दिएका थिए।
यस्तै पूर्वगृहसचिव समेत रहेका प्रतिवादी टेकनारायण पाण्डेले बयान गर्दा मन्त्रालयमा राजनीतिक रुपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ भन्दै झालाई मुछेका थिए। तर बेचन झाले भने उनीहरु दुवै जनालाई नचिनेको बयान दिएका छन्।