images

प्रचण्ड सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी

  • ४ भाद्र २०८१, मंगलवार

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको दस महिनापछि ओली सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा प्रतिबन्ध फुकुवाको पहल भइरहेको स्रोतले जनाएको छ। सकभर छिट्टै यसबारे निर्णय लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई प्रधानमन्त्री ओलीले निर्देशन दिइसकेका छन्। तत्काल फुकुवा खुलाउने गरी तयारी थाल्न निर्देशन पाएपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकका नेपाल प्रतिनिधिसँग छलफल गर्दैछन्। सञ्चार मन्त्रालयले निर्णय गरेर मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेपछि त्यसबारे आवश्यक कारबाही अघि बढ्नेछ।

ओली सरकारले सम्भवतः अबको केही दिनमा टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्नसक्ने अधिकारीहरु बताउँछन्। नेपालमा मनोरञ्जनको एउटा माध्यम बनेको टिकटक जसले पनि सजिलै खोल्न सक्ने यो सामाजिक सञ्जाल यतिछिट्टै विस्तार र व्यापक बन्यो कि कतिपय भिडिओले समाजमा नकारात्मक प्रभाव पनि पार्न थालेपछि सरकारले प्रतिबन्ध लगाएको थियो । सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गर्ने निर्णय गरेको थियो।

आपत्तिजनक भिडिओ हटाउने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध फुकुवा गरिदिन टिकटकले आग्रह ग¥यो। जबकि, २०८० माघदेखि टिकटकले उच्च तहका अधिकारीलाई नेपाल भ्रमणमा पठाएरै प्रतिबन्ध खुलाउन प्रयास गरेको थियो। दस जनाभन्दा बढी टिकटकका प्रतिनिधिले राजनीतिक भेटवार्ता गर्दै निरन्तर ताकिता गरे। सञ्चारमन्त्री रेखा शर्मासँग पटकपटक भेट गरे। तर, प्रचण्ड सरकार रहुञ्जेल प्रतिबन्ध हटेन। सरकारले प्रतिबन्ध लगाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १४ वटा दायर भए।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मंसिर ५ मा सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गरी तत्काल कुनै ‘अपूरणीय क्षति नहुने’ भन्दै सरकारी निर्णय कार्यान्वयनमा रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। प्रधानमन्त्री प्रचण्ड २०८० असोज ५ गते अमेरिका हुँदै चीन भ्रमण गए। त्यहाँबाट १३ असोजमा फर्किएलगत्तै मन्त्रिपरिषदले टिकटक प्रतिबन्धको निर्णय लिएको थियो। पश्चिमाहरूले चिनियाँ प्रविधिलाई निरुत्साहित गर्ने नीति लिएका बेला नेपालसमेत त्यस्तै नीतिबाट प्रभावित भएको चीनको भनाइ थियो।

टिकटक प्रतिबन्धको निर्णयलगत्तै नेपालका लागि चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री प्रचण्डलाई भेटेरै भनेका थिए, ‘तपाईंको चीन भ्रमण सफल बनाउन हामीले मेहनत ग¥यौँ। त्यसको प्रतिफलमा यो निर्णय पायौँ। तपाईंले आउँदाआउँदै चीनकै विरुद्धमा निर्णय गरिदिनुभयो।’ त्यतिखेर प्रधानमन्त्री प्रचण्डले ‘चीनको यति गम्भीर चासो होला भन्ने त सोचेकै थिइनँ’ भनेर जवाफ फर्काएका थिए।