images

शरणार्थी प्रकरणको सुई बालकोट र बूढानीलकण्ठतिर सोझिएपछि सरकार ढालेको प्रचण्डको दाबी

  • २९ भाद्र २०८१, शनिबार

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भुटानी शरणार्थी प्रकरणको सुई बालकोट र बूढानीलकण्ठतिर सोझिएपछि सरकार ढलेको बताएका छन् । शनिबार मोरङमा आयोजित पार्टी कार्यक्रममा उनले भुटानी शरणार्थी प्रकरणमा केही फरार अभियुक्त गिरफ्तार भएपछि सरकार ढलेको बताए ।

‘भुटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तलाई गिरफ्तार गरियो, सुशासनको सुई बालकोटतिर पनि सोझियो, बूढानीलकण्ठतिर पनि सोेझियो । जब भ्रष्टाचार विरोधी अभियानको सुई उता सोझियो, एउटा आतंक नेताहरुमा पैदा भयो एउटा डर, एउटा भय’ प्रचण्डले भने, ‘त्यसैकारण राम्रो काम गर्न खोज्दा खोज्दै कुनै पनि अभियोग नलाग्दा नलाग्दै पनि तथाकथित संख्याको बलमा बडो अप्राकृतिक रुपमा अस्वाभाविक रुपमा आफ्नै नेता कार्यकर्तालाई जानकारी नदिई पहिलो र दोस्रो पार्टीका बीचमा गठबन्धन भयो र सरकार बदलिने परिस्थिति बन्यो ।’

प्रचण्डले बालकोट भनेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको घर र बूढानीलकण्ठ भनेर कांग्रेस सभापति शेरबहादुर देउवाको घर रहेको ठाउँलाई लक्षित गरेका हुन् ।