images

पक्राउ पर्दैगर्दा प्रसाईंले भने– एक थोपा रगत हुँदासम्म केपी ओलीसँग लड्छु

  • ६ आश्विन २०८१, आईतवार

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो शरिरमा एक थोपा रगत बाँकी हुँदासम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लडिरहने बताएका छन्। प्रसाईंले आफू तस्करहरूविरुद्ध लड्दा पक्राउ पर्नपरेको पनि बताए।

‘तस्करहरूको विरुद्धमा लड्दा आज यो मैले भोगेको छु। एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु,’ उनले भने। प्रसाईंलाई प्रहरीले आइतबार उनकै भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो। उनलाई अहिले म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पुर्‍याइएको छ।

उनले प्रहरीलाई समेत आफूलाई भ्रष्टाचारीलाई गरेजस्तो नगर्न भने। ‘पक्रिएजस्तो नगर्नुस् न म आफैँ चढिहाल्छु नि। भ्रष्टाचारीलाई गरेजस्तो नगर्नुस् न,’ उनले प्रहरीको भ्यानमा चढ्दैगर्दा भनेका छन्।

प्रसाईंको म्याद थपका लागि न्यायाधीश बालकृष्ण वाग्लेको इजलासमा अहिले बहस भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य टीका संग्रौला लगायतका पीडित महिलाले प्रसाईंविरुद्ध ब्युरोमा जाहेरी दिएका थिए।

सोही जाहेरीपछि अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो। विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने लगायतका विषय उल्लेख गरेर प्रसाईंविरुद्ध जाहेरी परेको थियो।