कैलाली । गत वर्ष कात्तिकमा मृत फेला परेकी डडेल्धुरा अमरगढी नगरपालिका–२ की ३१ वर्षीया महिलालाई सामूहिक यौनसम्पर्कपछि अचेत अवस्थामा जंगलमा फ्यालिएको खुलेको छ । आरोपि दुई युवक करिब एक वर्षपछि पक्राउ परेका छन् ।
२९ कात्तिक २०८० मा धनगढी उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय सञ्जीव चौधरी र ३० वर्षीय जनक देउवासँग सामूहिक यौनसम्पर्क भएको प्रहरीले ठहर गरेको हो ।
नाम परिवर्तित सुस्मालाई चिनजानका साथी चौधरीले फोन गरेर देउवाको घरमा बोलाएका थिए । उनी आइपुग्नुभन्दा अगाडि नै दुवैजना लागूऔषध सेवन गरिरहेका थिए । उनीहरुले सुस्मालाई पनि लागूऔषध सेवन गराएको प्रहरी अनुसन्धानले देखाएको छ ।
तीनैजना लठ्ठ भएपछि उनीहरुबीच शारीरिक सम्वन्ध भएको थियो । त्यसपछि आपसी विवाद भएको र महिलामाथि कुटपिटसमेत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए । विवाद र कुटपिटको स्पष्ट कारण नखुलेको उनको भनाइ छ ।
झगडापछि पनि तीनैजना एकैठाउँमा सुतेका थिए । बिहान उठ्ने बेला युवती बेहोस अवस्थामा थिइन् । त्यसपछि युवकहरुले उनलाई स्कुटरमा राखेर सरस्वती सामुदायिक वनमा फालेको बोहराले बताए ।
६ मङ्सिर २०८० मा धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा सुस्माको शव कुहिएको अवस्थामा भेटिएको थियो । उनका बुवाले छोरीको पहिचान गर्दै १० कात्तिकमा जिल्ला प्रहरी कार्यालय कैलालीमा ज्यान सम्बन्धी जाहेरी दिएर शव बुझेका थिए ।
प्रहरीकाअनुसार त्यो बेलासम्म महिलाको मृत्युको कारण खुलेको थिएन । घटनास्थलमा प्रहरीले लागु औषध समेत बरामद गरेको थियो । लागु औषधबाट मृत्यु भएको देखाउने उद्देश्यले चौधरी र देउवाले त्यस्तो गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
चौधरीलाई सीमावर्ती भारतीय बजार गौरीफन्टा र देउवालाई चौधरीकै बयानका आधारमा धनगढीबाटै पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक९एसपी० पदमबहादुर विष्टले जानकारी दिए । दुवै जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइने एसपी विष्टले बताए ।