काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्दा विचार नपुर्याए देश सम्हाल्नै नसक्ने अवस्थामा पुग्न सक्ने बताएका छन् । संविधान निगरानी समूह र इन्ष्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो–इकोनोमिक रिसर्चले सोमबार आयोजना गरेको कार्यक्रममा उनले संविधान संशोधन जटिल र संवेदनशील विषय भएको बताए ।
‘संविधान संशोधन निकै संवेदनशील गम्भीर विषय हो । यो संविधान लामो संघर्ष र ठूलो बलिदानपछि संविधान सभाबाट बनेको हो, जसमा अधिकतम राजनीतिक सहमति बनेको संविधान हो, यसमाथि हामीले अलिकति पनि छेडखान गर्ने ढंगले गयौं भने पान्डोराको बाकस खोलेको जस्तो हुने र देश सम्हाल्नै नसक्ने खतरा हुन सक्छ’, उनले भने ।
पूर्व प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘अलिकति खोलिदिँदा अहिलेसम्म भएको सिस्टम भत्किने र बेलगाम अराजकता बढ्ने खतरा हुन सक्छ भन्ने प्रति गम्भीर हुनुपर्छ ।’
संविधान संशोधनबाट महिला, आदिवासी जनजाति, दलितलगायत पछाडि पारिएका समुदायको अधिकार खोस्न खोजेमा ठूलो राजनीतिक द्वन्द्व हुन सक्ने उनले बताए । ‘यस्तो भयो भने नेपालमा सम्हाल्न सक्ने हुन्छ भन्ने लाग्दैन’, प्रचण्डले भने ।