
काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपालले लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा अन्तिम खेल खेल्दैछ। क्यानडामा भएको लिग-२को अन्तिम खेल नेपालले ओमानसँग खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८:४५ बजे खेल सुरू हुनेछ।
नेपालले क्यानडामा हालसम्म खेलेको तीन खेलमध्ये तीनै खेलमा पराजित भएको छ। घरेलु टोलीसँग २ र ओमानसँग १ खेल खेल्दा तीनै खेलमा नेपाल पराजित भएको छ। विश्वकप लिग-२ मा नेपालले कुल ७ खेल खेलिसकेको छ। त्यसमध्ये नेपालले एउटा मात्रै जित निकालेको छ।
गत फेब्रुअरीमा घरेलु मैदानमा नामबिया र नेदरल्यान्ड्सबिरुद्धको चार खेल मध्ये नेपाल तीन खेलमा पराजित भएको थियो। नेपाल ओमानको चिर परिचित प्रतिद्वन्द्वी हो। गत वर्षको अप्रिलमा भएको एसिसी मेन्स प्रिमियर कपमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको थियो।
एकदिसवीय सिरिजपछि असोज १२ गते क्यानडामै नेपालले त्रिकोणात्मक टी-२० सिरिज खेल्नेछ।त्रिकोणात्मक टी-२० सिरिज खेलेपछि नेपाली टोली अमेरिका भ्रमणमा जानेछ। त्यहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुनेछ। अमेरिका भ्रमणमा पनि नेपालले लिग-२ को त्रिकोणात्मक सिरिज र टी-२० त्रिकोणात्मक सिरिज गरी दुई सिरिज खेल्नेछ।
लिग-२ को सिरिज अमेरिकाको टेक्सासस्थित ह्युस्टनको प्रिएरी भ्यूमा हुने तय भएको छ। सबै खेल अमेरिकाको स्थानीय समयअनुसार विहान १०:३० र नेपाली समयअनुसार राति सवा १० बजे सुरु हुनेछ।
तालिकाअनुसार लि-२ नेपालले २७ अक्टोबरमा (कात्तिक ११) अमेरिकासँग, २९ अक्टोबरमा (कात्तिक १३) स्कटल्यान्डसँग, २ नोभेम्बरमा (कात्तिक १७) फेरि अमेरिकासँग र अन्तिम खेलमा ४ नोभेम्बरमा (कात्तिक १९) स्कटल्यान्डसँग प्रतिस्पर्धा हुनेछ। लिग-२ को एकदिवसीय सिरिज पछि तीनै टोलीबीच टी-२० सिरिज हुनेछ।
नेपाली टिमः रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ) ।