काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। अहिले देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।
यतिबेला (मंगलबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी, बागमती र मधेस प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी , गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। आगामी तीन दिनसम्म मौसम बदली भैरहने विभागले जनाएको छ ।