
काठमाडौं । इजरायलले दक्षिणी लेबनानमा कारबाही तीव्र बनाएपछि राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका ८५० नेपाली शान्ति सैनिक बंकरमा सरेका छन् ।
संयुक्त राष्ट्र संघले ‘सेक्युरिटी लेभल ३’ लागू गराएपछि यूएन प्रोटोकल अनुसार सोमबारदेखि नेपाली शान्ति सैनिक बंकरमा सरेको नेपाली सेना उच्च स्रोतले बताएको छ । यद्यपि, यो प्रोटोकल कति लामो समयसम्म रहन्छ भन्ने खुलाइएको छैन ।जंगीअड्डाका अनुसार, लेबनानमा ८७७ नेपाली सैनिक रहेपनि २७ जना हेडक्वार्टरमा विभिन्न तहमा कार्यरत् छन् । इजरायली डिफेन्स फोर्स ९आईडीएफ० ले लेबनानको इस्लामिक विद्रोही संगठन हिजबुल्लाहलाई समाप्त पार्न भन्दै १५ असोजबाट स्थल कारबाही समेत थालेको छ ।
इजलायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आइतबार संयुक्त राष्ट्रसंघीय मिसनलाई दक्षिण लेबनानबाट हटाउन समेत चेतावनी दिए । तर राष्ट्रसंघले शान्ति स्थापनाका खटिएको सैनिक फिर्ता नहुने जवाफ दिएको छ ।
यसले तनाव बढेको छ । शुक्रबार हवाई आक्रमणका क्रममा श्रीलंकाका दुई जना शान्ति सैनिक घाइते भएका छन् । नेपाली सैनिक अधिकृतहरुले भने शान्ति सेनालाई लक्षित गरेर कारबाही नगरिएपनि आसपासमा फायरिङ हुँदा त्यसको केही प्रभाव शान्ति सैनिक खटिएको इलाकामा पनि परेको विश्लेषण गरेका छन् ।
अधिकारीहरुका अनुसार, सेनाले बंकरमा निश्चित समयका लागि रासन, पानी लगायतको व्यवस्थापन सधैँ गरिरहेको हुन्छ । तर, लामो समयसम्म पूर्णतः मुभमेन्ट बन्द हुँदा कठिनाइ देखा पर्छ ।