
काठमाडौं । अहिले नेपालमा भारतको आकाश हुँदै आउने जहाज सिमराबाट मात्र नेपाल प्रवेश गर्न पाउँछन् । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको जोडबलमा अहिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज जान थालेका छन् ।
त्यस्तै पश्चिम नेपाल आसपास हुँदै आउने जहाज समेत पूर्वी नेपालको सिमरा आएर नेपाल प्रवेश गरी पुनः नेपाली आकाश हुँदै भैरहवा जानुपर्ने बाध्यतामा छन् । भारतसँग लामो समयदेखि थाती रहेको थप प्रवेश बिन्दु प्राप्त नहुँदा वायुसेवा कम्पनीहरूले अतिरिक्त समय र इन्धन खर्च गर्नुपरेको छ । यसको मार यात्रुले हवाई टिकटमा पाइरहेका छन् । भैरहवा विमानस्थलमा जहाज अवतरण गराउन नेपाललाई पश्चिमतर्फ नेपालगञ्ज वा महेन्द्रनगरबाट जहाज प्रवेश गर्न पाउने गरी ‘इन्ट्री रुट’ आवश्यक छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेत चल्न थाल्दा भने भैरहवाबाट इन्ट्री रुट सबैभन्दा उपयोगी हुनेछ । तर, गौतमबुद्ध विमानस्थलमा अवतरण गर्न भने भैरहवामा इन्ट्री रुट पाए पनि व्यावहारिक छैन ।
त्यस्ता जहाजलाई क्रमशः तल झार्दै अवतरणका लागि योग्य बनाउन झन्डै सिमरा–भैरहवा दुरी जत्तिकै ‘एयर स्पेस’ आवश्यक पर्छ । नभए धेरै फन्को मार्दै तल झर्नुपर्छ । सोहीकारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सहजताका लागि नेपालले पश्चिमतर्फ नेपालगञ्ज वा महेन्द्रनगरबाट इन्ट्री पाउनुपर्छ । पूर्वी नेपालबाट प्रवेश गर्ने जहाजका लागि भने सिमरा नै उपयुक्त छ ।
अहिले भारतले नेपालबाट उडेका जहाजलाई महेन्द्रनगरबाट बाहिर जान दिन्छ तर आउन दिँदैन । जसले गर्दा पश्चिम नेपाल हुँदै आउनुपर्ने जहाज समेत सिमरा फन्को मार्नुपरेको छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार सिमरा रुटबाट प्रवेश गर्ने जहाज काठमाडौं आउनु र भैरहवा जानुमा औसतमा ७ मिनेट फरक पर्छ । तर, काठमाडौंमा हवाई ट्राफिक चाप हुँदा जहाजले सामान्यतया दुईरतीन फन्को नमारी पालो पाउँदैनन् ।
तर, भैरहवामा अहिले तुलनात्मक रूपमा चाप कम छ । जहाँ आकासमा ‘होल्ड’ गर्नु पर्दैन । आजको दिनमा भैरहवा र काठमाडौं आउने समय र इन्धन खर्चमा त्यति ठूलो अन्तर नहुने प्रवक्ता पाण्डे बताउँछन् ।
प्राधिकरणका अनुसार भारतले नेपालगञ्ज र महेन्द्रनगर माथिको प्रवेश बिन्दुमा सुरक्षाको कारण देखाउने गर्छ । नेपालगञ्ज आउने रुटमा भारतीय सेनाको एयरबेश रहेको र त्यसले व्यापारिक उडानका जहाजलाई जोखिम निम्त्याउने भारतको दाबी छ ।