
काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पले सम्हालेको छोटो समयमै रुससँगको युद्ध अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । ‘ह्वाइट हाउसको नेतृत्व गर्ने नयाँ टोलीको नीतिसँगै रुससँगको युद्ध चाँडै समाप्त हुने निश्चित छ । यो उनीहरूको दृष्टिकोण हो, उनीहरूका नागरिकहरूलाई उनीहरूको वाचा,’ जेलेन्स्कीले युक्रेनी मिडिया सस्पिल्नसँगको अन्तर्वार्तामा भनेका छन्, ‘यो युद्ध अर्को वर्ष टुंगियोस्, कूटनीतिक माध्यमबाट अन्त्य होस् भनेर सबै कुरा गर्नुपर्छ ।’
जेलेस्कीले रणभूमिमा रुसी सेनाले प्रगति गरिरहेको र स्थिति कठिन बन्दै गएको स्वीकार पनि गरेका छन् ।राष्ट्रपतिमा विजयी भएपछि ट्रम्पसँगको टेलिफोन वार्ताका क्रममा आफूसँग ‘रचनात्मक आदानप्रदान’ भएको जेलेन्स्कीको भनाइ छ । ट्रम्पले रुससँगको सम्भावित वार्ताका सम्बन्धमा कुनै माग गरेरनगरेको विषयमा भने जेलेन्स्कीले केही नबताएको बीबीसीले जनाएको छ । तर युक्रेनको अडानविपरीत हुने गरी ट्रम्पले कुनै कुरा गरेको आफूले नसुनेको जेलेन्स्कीको भनाइ छ ।
ट्रम्पले लगातार आफ्नो प्राथमिकता युद्धको अन्त्य गर्ने र युक्रेनलाई दिँदै आइएको सैन्य सहायता रोक्ने बताउँदै आएका छन् । ट्रम्पले आगामी जनवरीमा शपथ लिएपछि अमेरिकी कानुनले उनीसँग भेट्न अनुमति दिने जेलेन्स्कीले बताए ।