images

काठमाडौं महानगरले इमेल र हुलाकबाट पठायो एमालेलाई जरिवाना पत्र

  • १० मंसिर २०८१, सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र इमेल र हुलाकमार्फत सत्तारुढ दल नेकपा एमालेलाई पठाइएको छ । पार्टी केन्द्रले पत्र बुझ्न नमानेपछि आइतबार नै इमेल र हुलाकमार्फत् एमालेलाई पत्र पठाइएको मेयर बालेन शाहको सचिवालयका एक सदस्यले जानकारी दिए ।

एमालेले गत शुक्रबार दरबारमार्गमा जागरण सभा आयोजना गर्ने क्रममा सडक र पेटीमा फोहोर गरेको भन्दै महानगरले सोही दिन एक लाख जरिवाना तोकेको थियो । उक्त जरिवानाको पत्र पुर्‍याउन हिजो महानगरको टोली आफैं पार्टी कार्यालय पुगेको थियो। यद्यपि, उक्त कार्यक्रमको आयोजक पार्टी केन्द्र नभएको भन्दै पत्र बुझ्न अस्वीकार भएको थियो ।

एमालेले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा जागरण सभा आयोजना गरेको थियो । महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको पत्रमा उल्लेख गरेको छ । एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैं सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने तर्क गरेका छन् ।