काठमाडौं । लाहिरु मिलान्थाको आक्रामक ब्याटिङमा जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ। शनिबार भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै एनपीएलमा शानदार जित दर्ता गरेको हो।
विराटनगरले दिएको १ सय २८ रनको लक्ष्य जनकपुरले १५।२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। तेस्रो विकेटका लागि लाहिरु मिलान्था र हर्ष ठाकेरले १ सय १६ रनको अविजित साझेदारी गरेपछि जनकपुरले सहजै लक्ष्य भेट्टायो ।
मिलान्थाले ५२ बलमा ९ चौका र २ छक्का सहयोगमा ७५ रनमा अविजित रहे। ठाकेर ३३ बलमा २ चौका सहयोगमा २९ रनमा नटआउट रहे। मिलान्थाले १२ औँ ओभरको पहिलो बलमा अर्धशतक पूरा गरे। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै टोलीका लागि पहिलो अर्धशतक पूरा गरेका हुन्। एनपीएलमा यो दोस्रो अर्धशतक हो। मार्की आशिफ शेख पहिलो ओभरको चौथो बलमा नै बोल्ड आउट भए। आशिफ शुन्य रनमा नै क्रिस सोलेको बलमा आउट भए। कप्तान अनिल शाह ५ रनमा बोल्ड आउट भए। अनिल दोस्रो ओभरको अन्तिम बलमा सोलेको बलमा बोल्ड आउट हुन पुगे।
विराटनगरका क्रिस सोले र प्रतिश जिसीले समान एक विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १ सय २७ रन बनाउँदा अलआउट भयो।
विराटनगरका लागि मार्टिन गुप्टिलले सर्वाधिक ४३ बलमा ७ चौका र १ छक्काको मद्दतमा ५५ रन बनाए ।गुप्टिल १४ औँ ओभरको अन्तिम बलमा हर्ष ठाकेरको बलमा अनिल शाहको हातबाट क्याच आउट भए।
विराटनगरले दोस्रो ओभरमा ६ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो। अोपनर लोकेश बम ५ रन बनाउँदा ललित राजवंशीको बलमा बोल्ड आउट भए। ललित राजवंशीले दोस्रो ओभरको पहिलो बलमा विकेट लिर्दै लोकेशलाई पेभेलियनको बाटो देखाए।
नवौँ ओभरको दोस्रो बलमा अकिब इलियास १५ रन बनाउँदा आउट भए। जनकपुरका मोहम्मद मोहसिनले अकिब इलियासलाई एलबीडब्लु धरापमा पारे।
१२ औँ ओभरको अन्तिम बलमा निकोलस किर्तन ९ रन बनाउँदा हर्ष ठाकेरको बलमा बोल्ड आउट भए। बसिर अहमद र सन्दीप लामिछाने समान ७ र राजेश पुलामी १ रनमा आउट भए। प्रतिश जिसी २ रनमा बोल्ड आउट भए। जितेन्द्र मुखिया शुन्य रनमा नै बोल्ड आउट भए।
किशोरले १८ औँ ओभरको तेस्रो बलमा सन्दीप र चौथो बलमा जितेन्द्र मुखियालाई आउट गराए । जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिए। हर्ष ठाकेर र किशोर महतोले समान २ विकेट झारे। मोहम्मद मोहसिन र वेन माइकले समान एक विकेट आफ्नो नाममा गरे।