images

मन्त्रीहरूको कार्यशैलीमा हस्तक्षेप गर्न प्रधानमन्त्रीलाई एमालेभित्र चर्को दबाब

  • ७ पुष २०८१, आईतवार

काठमाडौँ । मुलुकका दुई ठुला दल मिलेर बनेको सरकारका काम–कारबाहीहरू जनअपेक्षित हुन नसकेकोमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयं सन्तुष्ट छैनन् । आफूले सरकारको नेतृत्व सम्हालेको पाँच महिना बितिसक्दा पनि जनताको अपेक्षाअनुसार काम हुन नसकेको भन्दै आफ्नै मन्त्रीहरूको कार्यशैलीलाई लिएर प्रधानमन्त्री सन्तुष्ट बन्न नसकेका हुन् ।

२०८१ असार ३१ गते प्रधानमन्त्री बनेका ओलीले यसबिचमा मन्त्री र सचिवहरूसँग कार्य सम्पादन सम्झौता नै गरेका थिए । त्यसमाथि उनले सबै मन्त्री, मुख्यसचिव र सचिवहरूलाई सँगै राखेर र एक्लाएक्लै सिंहदरबार बोलाएर नतिजा आउनेगरी काम गर्न निर्देशन दिँदै आएका थिए । तर, कार्यशैली बदल्न र प्रभावकारी काम गर्न पटक–पटक निर्देशन दिँदा पनि सुधारको संकेत नदेखिएपछि प्रधानमन्त्री थप चिन्तित बनेको स्रोतको भनाइ छ ।

त्यसअघि गत मङ्सिर ११ गते चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिक समीक्षा बैठकमा पनि प्रधानमन्त्री ओलीले सोचेजति काम नभएको भन्दै मन्त्री र सचिवहरूलाई कामबाट परिस्थितिमा परिवर्तन ल्याउनैपर्ने बताएका थिए । त्यसक्रममा प्रधानमन्त्रीले जनताका अपेक्षाबमोजिम ठोस र परिणाममूलक काम गर्न सक्नुपर्नेमा जोड दिएका थिए ।

पार्टीभित्रै ओलीलाई दबाब

त्यसो त सरकारका काम–कारबाही प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीलाई पार्टीभित्रै दबाब छ । चीन भ्रमणबाट फर्केपछि गत मङ्सिर २५ गते बसेको एमाले सचिवालय बैठकमा सचिवालय सदस्यहरूले सरकारका काम कारबाहीबारे पार्टीमा समीक्षा गर्नुपर्ने धारणा राखेका थिए । सदस्यहरूले सरकारका काम–कारबाही र कार्यशैलीप्रति जनताले भरोसा नगरेको गुनासो आइरहेको भन्दै यसबारे पार्टीमा गम्भीर ढंगले छलफल गरेर अघि बढ्नुपर्ने मत राखेका थिए ।

सदस्यहरूले यस्तो प्रस्ताव गरेपछि प्रधानमन्त्री ओलीले उक्त दिन समय अभाव रहेको भन्दै अर्को बैठकमा समय लिएर नै समीक्षा गर्न सकिने बताएका थिए ।