images

रविलाई रिहा गर्न चितवन अदालतले माग्यो ५४ लाख धरौटी

  • २४ माघ २०८१, बिहीबार

चितवन । सहारा चितवन सहकारी ठगीको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ५४ लाख रुपैयाँ धरौटी माग गरेको छ। न्यायाधीश दयाराम ढकालको इजलासले लगातार दुई दिनको सुनुवाइपछि बिहीबार रविसँग धरौटी माग गर्ने आदेश दिएको हो। अदालतले माग गरेको धरौटी बुझाए लामिछाने आजै रिहा हुनेछन्। बुधबार बयान सकिए पनि थुनछेक बहस नसकिँदा रविलाई अदालतले प्रहरीको जिम्मा लगाएको थियो।

यसअघि बहसका क्रममा सरकारी वकिल र जाहेरवालाका कानुन व्यवसायीले रविलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउन माग गरेका थिए। लामिछानेले अदालतमा बयान गर्दा आफू निर्दोष रहेको दाबी गरेका थिए। गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक रहेको र कम्पनीमा आफ्नो सेयर रहेको विषयलाई भने उनले स्वीकार गरेका थिए।

सहप्रतिवादीहरू छविलाल जोशी र कुमार रम्तेलले रवि लामिछानेलाई समेत पोल गरी बयान गरेका थिए। यीसहितका आधारमा रवि लामिछानेको कसूरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेको आदेशमा उल्लेख छ।

अब पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको ठगी प्रकरणमा पनि उनीमाथि मुद्दा चलाउने तयारी छ। प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्‍याइसकेको छ। कास्की प्रहरीको हिरासतमा छँदा रविसहितका अभियुक्तलाई वीरगन्ज पुर्‍याएर बयान लिइएको थियो।