
काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सरकारले अध्यादेश खराब नियतले नल्याएको टिप्पणी गरेका छन् । कांग्रेस संसदीय दलको बैठकमा अध्यादेशका अन्तरवस्तुबारे दुई नेताले सांसदहरूलाई जानकारी गराएका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २९ पुसमा चारवटा अध्यादेश जारी गरेका थिए । सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी अध्यादेश जारी भएको थियो ।
संसद् सुरु हुनु अघि सुरु भएको संसदीय दलको बैठक बिहीबार सकिएको छ । अन्तिम दिन अध्यादेशका अन्तरवस्तुबारे जानकारी गराउने क्रममा दुई महामन्त्री थापा र शर्मा मूलतः सुशासन प्रर्वद्धनमा अध्यादेश मार्फत गरिएको सुधारबारे जानकारी गराएका थिए ।