
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको भन्दै त्यसलाई रोक्न राष्ट्रिय सरकार बनाउने कसरत सुरु भएको नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले बताएका छन्। सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि टेलिफोन संवाद सुरु भएको छ। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य दलका दोस्रो र तेस्रो तहका नेताबीच मुलुकको पछिल्लो अवस्थाबारे भेटेरै छलफल नै भइरहेको छ। ज्ञानेन्द्रले फागुन ७ यता गणतन्त्रवादी दलहरूलाई तर्साउने गरी आफू चुप नबस्ने बताएपछि नेताहरू गणतन्त्र जोगाउनकै लागि एकै ठाउँमा हुनुपर्ने निचोडमा पुगेको माओवादी केन्द्रका एक नेताले बताए।
खासगरी माओवादी केन्द्रका नेताहरू राष्ट्रिय सरकार’ बन्नु पर्ने कुरामा मुखर हुन थालेका छन्। माओवादीका सांसद लेखनाथ दाहालले आइतबार गणतन्त्र पक्षधरको सरकार बन्ने ढोका खुलेको ठोकुवा नै गरे। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट एक नेताका अनुसार देउवा र प्रचण्डबीच संवाद सुरु भएको छ। तर, कांग्रेसका एक नेताले भने दोस्रो र तेस्रो तहका नेताहरूबीच मात्र छलफल भएको बताए। कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले ज्ञानेन्द्रको चलखेललाई लिएर दलहरू एकैठाउँमा हुनसक्ने सम्भावना रहे पनि सरकारै बनाउने कुरा नभएको दाबी गरे।
कांग्रेसकै कतिपय नेताहरू भने एमालेसँग सहकार्य भइरहेको बेला अहिले राष्ट्रिय सरकारको बहस गर्नै नहुने तर्क गर्छन्। केही समययता सरकारप्रति आक्रामक माओवादी केन्द्रले कांग्रेस–एमालेप्रतिको रवैया फेरेको छ। अब कांग्रेस–एमालेमाथि आक्रामक नभई व्यवस्था रक्षाका विषयमा केन्द्रित हुने माओवादीका एक नेता दाबी गर्छन्। एमालेका नेताहरूले खुलेरै भारतले प्रधानमन्त्री केपी ओलीलाई हटाउन जोड गरिरहेको बताएका छन्। कांग्रेसलाई छिटो सत्ताको नेतृत्व दिलाउन प्रयास भइरहेको उनीहरूको भनाइ छ। तथापि, कांग्रेस सभापति देउवाले अहिलेसम्म त्यसलाई अस्वीकार गरिरहेको उनीहरू दाबी गर्छन्।
पछिल्ला केही दिनयता माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीच टेलिफोनमा बारम्बार कुराकानी भइरहेको माओवादीका अर्का एक नेताले पनि बताए। देउवासँग यस्तै छलफल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि गरिरहेका छन्। माओवादी सहित चार दल रहेको समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शनको तयारी गरेको छ। पूर्वराजा ज्ञानेन्द्र र राजावादीको सक्रियताबारे कांग्रेसका नेता एवं राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले सोमबारको संसद बैठकमा बोल्ने भएका छन्।
कांग्रेस–माओवादी केन्द्र संवादसँगै काठमाडौँमा राष्ट्रिय सरकारको चर्चा बढ्दै जाँदा अहिले सरकारको नेतृत्व गरिरहेको एमालेले भने मुख खोलेको छैन। पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सोमबार पार्टीको सचिवालय बैठक राखेका छन्।