images

आज रातिदेखि आइतबार साँझसम्म मौसम खराब हुने सम्भावना

  • ७ चैत्र २०८१, शुक्रबार

काठमाडौं । आज (शुक्रबार) रातिदेखि आइतबार साँझसम्म मौसम केही खराब हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शुक्रबार साँझ जारी गरेको सूचनाअनुसार आज चैत ८ गते राति देशैभरिका हिमाली क्षेत्रका एक दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ। देशैभरिका पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ। तराईको हकमा कोसी र मधेस प्रदेशमा मात्रै यस्तो सम्भावना छ। यस्तै चैत ९ गते पनि देशैभरिका हिमाली क्षेत्रका थोरै ठाउँमा हिउँ पर्ने सम्भावना छ।

देशैभरिका पहाड र तराईका कतिपय ठाउँमा हल्का वर्षा हुने देखिन्छ। महाशाखाका अनुसार चैत १० गते भने कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ। यी तीनै प्रदेशका पहाडी र तराई क्षेत्रसहित मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने देखिन्छ।