images

भारतबाट फर्केको डेढ महिनापछि शिवशंकर हत्या, श्रीमतीसहितका व्यक्तिमाथि आशंका

  • ९ चैत्र २०८१, आईतवार

काठमाडौं । धनुषाका शिवशंकर हत्या प्रकरणमा प्रहरीले उनकी श्रीमतीसहितका व्यक्तिमाथि आशंका गरेर अनुसन्धान अघि बढाएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुर बस्ने २५ वर्षीय शिवशंकरको हत्या आरोपमा प्रहरीले शिवशंकरकी श्रीमती सृजनाका साथै उनलाई मोटरसाइकलमा लैजाने व्यक्ति केन्द्रीत अनुसन्धान अघि बढाइएको छ । शिवशंकरको शव महोत्तरीको गौशाला नगरपालिका–८ सागरनाथ वनमास्थित रेल्व ट्रयाकबाट करिब १०० मिटर दक्षिणतर्फ फेला परेको थियो । शुक्रबार साँझ ५ः३० बजे शव भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीको डीएसपी तथा प्रवक्ता सन्तुलाल जयसवारले बताए ।

शव अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ । पीडित परिवारबाट जाहेरी लिएर थप अनुसन्धान गर्ने प्रहरीको तयारी छ । अहिलेसम्म जाहेरी आइनसकेको प्रवक्ता जयसवारले बताए । विभिन्न प्राविधिक पक्षलाई केन्द्रमा राख्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार उनी बिहीबार दिउँसो श्रीमती सृजनासँगै १० महिने छोरासहित ससुराली घर बर्दिबास नगरपालिका–५ पशुपतिनगर बन्द्र जान भनी निस्केका थिए । तर उनी ससुराली पुगे नपुगेको प्रहरीले केही खुलाएको छैन ।

हत्या भएका शिवशंकर करिब डेढ महिना पहिला मात्रै मुम्बईबाट धनुषा आएका थिए । शिवशंकरको परिवारका अनुसार केही दिन अघि ससुरालीमा विवाद हुँदा शिवशंकरमाथि कुटपिट भएको थियो । विवादपछि श्रीमती र बच्चासहित घर फर्किंदा शिवशंकर पुनः ससुराली जान मानेका थिएनन् । उनलाई श्रीमती सृजनाले नाना (हजुरबुबा ) को मृत्यु भयो भनेर ससुराली जान बाध्य बनाएकी भाइ रामको भनाइ छ ।