
काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं घटनाको करिब १५ दिनपछि भारतको आसामबाट पक्राउ परे । नेपाल प्रहरीको आग्रहमा भारतीय प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको थियो । शुक्रबार पूर्वी नाकाबाट नेपाल ल्याइएका प्रसाईंलाई झापाको चन्द्रगढी विमानस्थलबाट शुक्रबार दिउँसो काठमाडौं ल्याइयो । विमानस्थलबाट सिधै जिल्ला प्रहरी परिसरको हिरासतमा पुर्याइएका प्रसाईंलाई प्रहरीले केहीबेरमै म्याद थपका लागि भनेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराएको थियो । न्यायाधीश शिशिरराज ढकालको इलासमा बहस भएपछि अनुसन्धानका लागि पहिलो पटक प्रसाईं र उनका बडीगार्ड दीपक खड्काविरुद्ध १२ दिनको म्याद थप भयो । अहिले उनीहरूलाई परिसरकै हिरासत कक्षमा राखिएको छ ।
झापाको बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय विवादास्पद व्यक्ति प्रसाईंले पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गर्दै थिए । उनैको महाअभियानलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ चैतमा तीनकुनेमा सभा गर्नका लागि अनुमति दिएको थियो । राजा फर्काउने दाबी गर्दै १५ चैतमा प्रसाईंको नेतृत्वमा तीनकुनेमा प्रर्दशन भयो । तर उक्त प्रदर्शन हिंसात्मक बन्यो । व्यक्तिको घर जलाइए । पसल, मार्ट तोडफोड भए । सवारी साधन जलाइए । प्रदर्शनमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र प्रदर्शनकारीले घरमा लगाएको आगोमा जलेर पत्रकार सुरेश रजकको ज्यान गयो ।
प्रदर्शन हिंसात्मक बनेपछि प्रसाईं भने गाडी चढेर भागेका थिए । त्यसैदिन प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव तथा सांसद धवल शमशेर राणालाई पक्राउ गरेको थियो । प्रसाईं भने लामो समय फरार हुन भए । प्रसाईंविरुद्ध शुक्रबार राज्य द्रोहविरुद्धको कसुर र संगठित अपराधको कसुरमा अदालतबाट म्याद थप भएको छ ।
ज्यान मार्ने नियतले गाडीले पेलेर अघि बढेको आरोपमा प्रसाईंविरुद्ध ड्युटीमा खटिएका प्रहरीले निवेदन दिने तयारी गरेका छन् । जसका कारण उनलाई ज्यानसम्बन्धी कसुरदेखि ज्यान मार्ने उद्योगसम्मको मुद्दा चल्नेछ । राज्यविरुद्धको कसुर अन्तर्गतको राजद्रोहको कसुरमा उनीमाथि म्याद थप भएको छ । यदि कसैले राज्यविरुद्धको कसुर गरेमा भने २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था संहितामा उल्लेख छ । योसँगै अहिले प्रसाईंविरुद्ध संगठित अपराधको कसुर पनि लगाइएको छ । संगठित अपराधमा तीन वर्षभन्दा बढी कैद सजाय हुने अपराध गरेमा संगठित अपराध हुने कानुनी व्यवस्था छ । प्रसाईं पक्राउ परेसँगै उनीमाथि अनुसन्धान गर्दा पूर्वराजासम्म पुग्न सकिने आकलन पनि गरिएको छ । यो संगठित अपराधको मूल जरो पूर्वराजासम्म पुगेको अवस्थामा उनी पनि कानुनी दायरामा आउनेछन् ।
यसबाहेक प्रसाईंविरुद्ध कुन–कुन कसुरमा अनुसन्धान हुन्छ र मुद्दा चल्छ भन्ने आम जिज्ञासा रहेको छ । प्रहरीले औपचारिक रूपमा यो विषयमा मुख नखोले पनि प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा समेत अनुसन्धान अघि बढ्ने निश्चित भएको छ । यसका साथै प्रसाईंविरुद्ध सार्वजनिक सम्पत्ति र निजी सम्पत्ति तोडफोड गरेको आरोप पनि छ ।
तीनकुने प्रदर्शनमा सार्वजनिक र निजी सम्पत्तिको ठूलो क्षति भएकाले प्रसाईंविरुद्ध त्यसमा पनि अनुसन्धान गर्ने तयारी छ । यसका लागि उनीविरुद्ध मुलुकी अपराध संहिताको दफा २८५ को आपराधिक उपद्रवको कसुरमा समेत अनुसन्धान हुनसक्ने बताइएको छ । यो दफाअनुसार सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड तथा क्षति पुर्याउन नहुने उल्लेख छ ।