
चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडकखण्ड विस्तारका काम समयमा नै नसकिँदा सर्वसाधारणले विगत ४ वर्षदेखि झेल्दै आएका छन् । अहिले भने सडक विस्तारको कामले निकै गति लिँदा दाउन्ने बाहेकको क्षेत्रमा यात्रा सहज हुँदै गएको छ । ११३ किलोमिटर लामो नारायणगढ–बुटवल सडकखण्डलाई दुई भागमा विभाजन गरी सडक विस्तारको काम थालिएको थियो । नारायणगढदेखि दाउन्नेसम्म पूर्वी खण्ड (६५ किलोमिटर) र दाउन्नेदेखि बुटवलसम्म पश्चिम खण्ड (४९ किलोमिटर) मा बाँडेर गरिएको विस्तारको कामले चालु बर्षको पछिल्लो तीन महिनामा अपेक्षाकृत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ।
ठेकेदार कम्पनी चाइना कन्स्ट्रक्सन प्रालिले दुवै खण्ड १६ अर्ब ९९ करोड रुपैयाँमा सडक विस्तार गर्ने गरी ठेक्का पाएको थियो । आयोजनाको पश्चिम खण्डभन्दा पूर्वी खण्डको भौतिक प्रगति अझै राम्रो छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले पछिल्लो तीन महिनामा पूर्वी खण्डको भौतिक प्रगति १० प्रतिशतको हाराहारीमा पुगेको जानकारी दिए । उनका अनुसार यो खण्डको कुल प्रगति अहिले ६३ प्रतिशतको हाराहारीमा छ ।
गत पुसको पहिलो हप्तादेखि मात्रै निर्माण कम्पनीले देखिने गरी फिल्डमा काम थालेको थियो । गत असार मसान्तसम्म पूर्वी खण्डको प्रगति ५१ प्रतिशत मात्रै थियो । ६३ किलोमिटर लामो पूर्वी खण्डमा पुल बाहेक १० किलोमिटर मात्रै एकतर्फी कालोपत्रे हुन बाँकी छ । कुनै भागमा दुईतर्फी नै कालोपत्रेसमेत भइसकेको सूचना अधिकारी खनालले जानकारी दिए । पिच हुन बाँकी १० किलोमिटर मध्ये ६ किलोमिटर कालोपत्रे गर्न तयारी अवस्थामा छ । गत असार मसान्तसम्म पूर्वी खण्डको प्रगति ५१ प्रतिशत मात्रै थियो । ६३ किलोमिटर लामो पूर्वी खण्डमा पुल बाहेक १० किलोमिटर मात्रै एकतर्फी कालोपत्रे हुन बाँकी छ ।
उनका अनुसार पूर्वी खण्डका ३४ पुल मध्ये २७ वटा पुल बनेर सकिएका छन् । ४ वटा पुल निर्माण सकिन लागेका छन् भने ३ वटा पुल निर्माणाधीन अवस्थामा नै छन् । चोरमारा, अरुणखोला र दुम्कीबास क्षेत्रका ठूला पुलको काम जारी छ । बर्खा अगाडि नै पूर्वी खण्डको यात्रा सहज बनाउने गरी आयोजनाले काम गरिरहेको सूचना अधिकारी खनालले बताए ।
सडकको हाल रहेको दुई लेनलाई बढाएर चार लेन र बजार क्षेत्रमा छ लेन बनाउने गरी सडक विस्तार तथा स्तरोन्नति गरिएको हो । २०७५ चैत ८ मा सुरु भएको सडक विस्तारका काम २०७९ साउन २२ भित्र सकिनुपर्नेमा कोभिड महामारी, रुख कटान, विद्युत पोल सार्न ढिलाई, खानेपानीको पाइपलाइन, स्थानीय अवरोध, मजदुरका समस्या, ठेकेदार कम्पनीको कारणले निर्माण पूरा हुन सकेन। २०८० साउन ११ सम्म पहिलोपटक, २०८१ साउन ८ गतेसम्म दोस्रोपटक र २०८२ साउन ८ सम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ । तेस्रो पटक थपिएको अवधिमा पनि सडक विस्तार पुरा हुन सक्ने देखिएको छैन । तर, यात्रा भने सहज बनाउने तयारीमा आयोजना लागेको छ ।