
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रहरी प्रमुख (आईजीपी) वसन्तबहादुर कुँवरलाई हटाएर एआईजी श्याम ज्ञवालीलाई आईजीपी बनाउने कसरतमा लागेपछि प्रधानमन्त्री प्रचण्डले तत्काल आईजीपी परिवर्तन गर्न नहुने पक्षमा रहेको बताएपछि गृहमन्त्री लामिछाने प्रधानमन्त्रीसँग असन्तुष्ट बनेका छन् । आईजीपी कुँवर आफ्नो स्पिरिट अनुसार हिँड्न नसकेको गृहमन्त्री लामिछानेको बुझाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार गृह जिल्ला चितवन पुगेर नेपाल प्रहरीमा आईजीपी परिवर्तन हुँदैन, त्यो हल्ला मात्रै हो भन्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री र गृहमन्त्रीको असमझदारी बढेको राजनीतिक बृतमा चर्चा चलेको छ । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले ३ वटै आईजीपीलाई बोलाएर केही परिवर्तन हुँदैन, ढुक्क हुनुस्, त्यही स्पिरिटमा काम गर्नुस् भनेको छु भन्ने अभिव्यक्ति दिए ।
त्यसअघि आइतबार प्रहरी प्रधान कार्यालयले पनि सूचना जारी गरेर प्रहरी संगठन र नागरिकस्तरमा निराशाजनक सन्देश प्रवाह गर्ने प्रचार भएको भन्दै खण्डन गरेको थियो । भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिएर आईजीपी परिवर्तनको प्रयास भएको, तर आफूले नमानेको सन्देश दिएका छन्
एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का अनुसार, प्रहरी प्रमुख कुँवर १० वैशाखमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को महासभामा सहभागी हुन गएका बेला पनि महानिरीक्षक हटाउने प्रयास भएको थियो । जानकारहरुका अनुसार, महानिरीक्षक कुँवरलाई राष्ट्रिय सुरक्षा परिषद्मा एउटा पद सिर्जना गरेर व्यवस्थापन गर्ने गृहकार्य भएको थियो ।
तर सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति नदिँदा रोकिएको स्रोतको दाबी छ । पछिल्लो पटक कान्तिपुर पब्लिकेसनसका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्ने विषयमा गृहमन्त्री र आईजीपी कुँवरबीच मतभिन्नता देखिएको स्रोत बताउँछ । गृहमन्त्री लामिछाने सिरोहियालाई तत्कालै नियन्त्रणमा लिन ताकेता गरिरहेका थिए भने कुँवरले प्रधानमन्त्रीसँग पनि कुरा गर्नुपर्ने बताएका थिए । प्रधानमन्त्रीको ग्रिन सिग्लन देखिएपछि नागरिकता विवादमा प्रहरीले ८ जेठमा सिरोहितलाई पक्राउ गरेको थियो । उनी ९ दिन प्रहरी हिरासतमा बसेर छुटिसकेका छन् ।
यो प्रकरणले गृहमन्त्री लामिछाने र आईजीपी कुँवरको मतभिन्नतालाई थप बढाएको छ । यसैले उनले प्रहरी प्रमुख परिर्वतनका लागि प्रयास गरिरहे । जानकारहरुका अनुसार, गृहमन्त्री लामिछाने हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा नेतृत्वमा रहेका श्यामलाल ज्ञवालीलाई प्रहरी प्रमुख बनाउन चाहन्छन् । त्यस्तै गृहमन्त्री लामिछानेले प्रहरीका काम कारबाहीबारे सूचना संकलन गर्न र निर्णयबारे सहयोग गर्न पूर्वप्रहरी उच्च अधिकृतहरुको अनौपचारिक समूह बनाएका छन् । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान विवादमा तत्कालीन सीआईबी प्रमुख किरण बज्राचार्य सहितको टोली बाहिरिएपछि गृहमन्त्री लामिछानेले सीआईबी नेतृत्वमा ज्ञवालीलाई रोजेका थिए ।
त्यसयता लामिछानेले आईजीपीभन्दा बढी ज्ञवालीलाई नै विश्वासमा लिएर काम गरेको प्रहरी स्रोतको दाबी छ । तर ५६ वर्षे उमेर हदका कारण एआईजी ज्ञवाली २६ भदौमा अनिवार्य अवकाशमा जानेछन् । तर त्यसअगाडि नै आईजीपी बनाउने हो भने कम्तीमा चैतसम्म प्रहरीको नेतृत्व गर्न पाउनेछन् । प्रहरी नियमावली अनुसार आईजीपीको उमेर हद ५८ वर्ष हुन्छ । साथै ३० वर्षे सेवा अवधि पनि छ । दुईमध्ये जुन पहिला पूरा हुन्छ, त्यही लागू हुने व्यवस्थाअनुसार प्रहरी प्रमुख भइहाले पनि ज्ञवाली लामो समय नेतृत्वमा रहिरहन सक्दैनन् । तर प्रहरी समायोजनका लागि आवश्यक कानुनी प्रबन्ध गर्ने क्रममा प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने तयारी छ । त्यसो भएमा भने उनको कार्यकाल लम्बिने छ ।
त्यसैले गृहमन्त्री लामिछाने आफ्नो विश्वास जितेका ज्ञवालीलाई प्रहरीको नेतृत्वमा ल्याउन चाहन्छन् । तर शुक्रबार बिहान तीनवटै सुरक्षा निकायका प्रमुखसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले तत्काल नेतृत्व नफेरिने बताएका छन् । आईजीपी हटाउन खोजेको खबर आइरहेपछि प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख प्रधानमन्त्री प्रचण्ड भेट्न शुक्रबार बिहान बालुवाटार पुगेका थिए ।