
काठमाडौं । राष्ट्रपति पौडेल र बेलायतका राजकुमार एडवार्डबीच भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको शीष्टाचार भेटमा पौडेलले जलवायु परिवर्तन विश्वको प्रमुख चिन्ताको विषय भएको र यसको समाधानका लागि सबै लाग्नुपर्ने बताए। नेपालले जलवायु परिवर्तनकै विषयलाई लिएर सगरमाथा संवादको थालनी गर्न लागेकोबारे पनि राजकुमारलाई जानकारी गराए। उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौँमा जलवायु परिवर्तन, हिमाल र मानवको भविष्यु विषयमा हुँदैछ।
राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा हुँदै आएका नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत पार्न योगदान दिएको छ प्रतिक्रिया दिए। साथै उनले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण पनि गरे। साथै सो अवसरमा उनले नेपाली नागरिक र आफ्नातर्फबाट राजा चार्ल्सको व्यक्तिगत सुख एवम् सुस्वास्थ्यको शुभकामना गरे। नेपाल भ्रमणका लागि बेलायतका राजकुमार एडवार्ड पत्नी सोफीयासहित आजै काठमाडौँ आइपुगेका हुन्। शीष्टाचार भेटमा सोफीया र नेपालका लागि बेलायती राजदूत सहभागी थिए।